राजनीति


मीनबहादुर र यतिको बचाउ गर्दै ओलीले भने– राष्ट्रिय पुँजीपतिहरूलाई छानेर लखेटियो

मीनबहादुर र यतिको बचाउ गर्दै ओलीले भने– राष्ट्रिय पुँजीपतिहरूलाई छानेर लखेटियो

नेपालखबर
भदौ २४, २०८० आइतबार १८:५२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानिछानि लखेटिरहेको आरोप लगाएका छन्।

मीनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरूमाथि सरकारले छानिछानि दुःख दिने काम गरेको ओलीको जिकिर थियो। 

पार्टीको केन्द्रिय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले नेतृत्व गरिरहेको माओवादी केन्द्रले त राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सबिरुद्ध गायत्री मन्तर जपेजस्तो जपेर लखेट्ने काम गरिरहेको बताए। 

‘अहिलेको सरकारले राष्ट्रिय उद्योगपति छानीछानी लखेट्छ। त्यो मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको? ५÷६ जनाले किनिसकेको जमिन, उसले धनीपूर्जा हेर्‍यो, भएको मान्छेसँग किन्यो त। अनि, सरकारी जमिनलाई आफ्नो बनाउने, आफ्नो बनाउन लाग्ने, आफ्नो बनाउन लगाउने भ्रष्टाचार गर्नेहरू त तिनीहरू हुन नि। ती ठूला कुरा गरेर हिँड्ने अनि, अर्कोसँग धनिपूर्जा हेरेर मालमा गएर, भूमि सुधारमा गएर पास गरेको होला नि,’ ओलीले भने, ‘सरकार अड्डामा गएर पास गरेको होइन? त्यसरी पास गरेर जग्गा किनेको मान्छे उसलाई किन त्यस्तो? अनि, के मिनबहादुर गुरुङ भागेर हिँड्थ्यो? अनि यो सबै सम्पती तिमीहरू खाऊ भनेर छोडेर हिँड्थ्यो? होइन। त्यो मनाङतिरको होकि मुस्ताङतिरको हो। भारी बोकेर हिँडने, खाली खुट्टा हिँड्ने, त्यो गुरुङ, पूँजी हुने भनेर आँखाले देख्न नसक्ने। यो राष्ट्रिय पूँजीपतिलाई खेद्ने कुरा हो।’

यति होल्डिङलाई खेद्नेहरू दलाल पुँजीवादीहरू भएको भन्दै ओलीले यस्ताहरूको बिरोध गर्न पाउने अवस्था समेत मुलुकमा नरहेको बताए। 

‘यती होल्डिङलाई किन खेदेको? यति होल्डिङलाई खेदनेहरू दलाल पुँजीवादीहरू हुन्। त्यसकारण उनीहरू खेद्छन। किनभने त्यो राष्ट्रिय पूँजी हो। सोलुको एउटा शेर्पा, भारी बोकेर हिँडथ्यो रे बच्चैदेखि। त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाएको छ। पर्यटन पनि चलाएको छ,’ ओलीले यतीको बचाउ गर्दै भने, ‘होटल पनि चलाएको छ। हेलिकप्टर पनि चलाएको छ। यसो गर्न पाइन्छ? भारी बोकेर हिँड्ने शेर्पाले। यो त राष्ट्रिय पुँजी बाहेक हुनै सक्दैन। उसले विदेशमा लगेर स्विजरल्याण्डमा जम्मा गर्दैन। उसले माल्दिभसमा लादैन, श्रीलंका लादैन। बंगालदेश, भारत लाँदैन। मुम्बईमा होटल छैन। यस्ता देशैमा केही गर्छु भन्ने पनि चलाउन दिइन्छ? त्यसैकारण यिनीहरू भनेका भन्यै छन्। माओवादीहरू गायन्त्री मन्त्र जप्दैनन्। ओम्नी, ओम्नी, ओम्नी, यति, यति, भाटभटेनी, भाटभटेनी, मिनबहादुर, मिनबहादुर ... ... गुरुङको छोरोलाई गरिखान दिनु हुँदैन भनेर जपिरहन्छन्।’

सरकारको गलत कार्यको बिरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दे उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादहरूले मुलुकमा तमासा देखाइरहेको पनि बताए। उनले धनीपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको? भनी सरकारलाई प्रश्न समेत गरे।

‘राष्ट्रिय पुँजीपतिहरूलाई छानिछानि लखेटेको छ। त्यसको विरुद्धमा कोही बोल्यो भने एउटा सांसद बोल्यो समातिन्छ। एउटा सचिव टिप्पणी उठाउँदा खेरी  बाउ बिरामी भएर उपचारका निम्ति जाँदा प्लेनको सिटबाट तानेर तमासा देखाइन्छ। दलाल पुँजीवादीहरूको तमासा हो यो,’ ओलीले भने।

अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्रलाई सहकारीको अर्थ नै थाहा नभएको टिप्पणी समेत गरे। कांग्रेस सहकारीको पक्षमा नरहेको र माओवादी केन्द्र सुनजस्तो मोटो रकम जम्मा गर्ने धन्दामा रहेकाले उसलाई त्यसबारे कुनै मतलव नै नभएको ओलीको भनाइ थियो।

‘अरु पार्टीहरू खास गरी कांग्रेस र माओवादी। कांग्रेस सैद्धान्तिक हिसावले नै, नीतिगत हिसावले नै सहकारीको पक्षमा छैन। ऊ हुँदैन। अर्कोलाई नीतिको अर्थ नै छैन। माओवादीलाई कुनैपनि नीतिसँग सरोकार छैन। नीतिसिती भन्ने कुरा माओवादी भन्ने पार्टीसँग कुनै सरोकार छैन। उसले फाइदा मात्रै जान्दछ,’ ओलीले भने, ‘यो सहकारीको बाटो हिँडेर दिनमा क्वीन्टल क्वीन्टल सुन ल्याएजस्तो फाइदा के छ उसलाई। उसलाई त थोकमा ढ्याकढयाक फाइदा चाहियो। यसो हेर्दा पनि टिलिक्क टल्कने फाइदा चाहियो। मोटोमोटो रकममा फाइदा चाहियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad