नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माघ ७ गते उनकै निवास खुमलटार पुगेर भेटेपछि बेलुका एउटा तस्बिर फेसबुकमा पोस्ट गरे।
तस्बिरमा पौडेल र प्रचण्ड हर्षित मुद्रामा देखिन्छन्। दुवैजना प्रचण्डले समातेको ठूलो छातामुनि छन्।
स्वास्थ्य उपचारका लागि भन्दै पुस २८ गते नयाँ दिल्ली पुगेका पौडेलले भारतको राजधानीमा राजनीतिक भेटघाट समेत गरेका थिए। भारतमा ८ दिन बिताएर माघ ४ गते उनी स्वदेश फर्किए।
दिल्लीबाट फर्केपछि आफ्नै सभापति शेरबहादुर देउवासँग भेट्नुअघि नै उनले निवासमै पुगेर नेकपा अध्यक्ष प्रचण्डलाई भेटे, जुन आफैंमा अर्थपूर्ण थियो।
दिल्लीबाट फर्केको तीन दिनपछि उनले प्रचण्डलाई भेटेका थिए। प्रचण्ड निवासबाट फर्केको केही घण्टापछि उनले १० वर्षअघिको तस्बिर खोजेरै फेसबुकमार्फत् सार्वजनिक गरेका थिए।
तर, पौडेलले सोही तस्बिरमा प्रचण्डकै आडमा रहेका पार्टी सभापति शेरबहादुर देउवालाई चाहिँ क्रप गरी हटाएका छन्।
सो तस्बिर २०६७ साल असोज २ गते नेपाली कांग्रेसको १२औं महाधिवेशनको उद्घाटन सत्रको हो।
कांग्रेसको महाधिवेशनमा सहभागी भएका तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै पौडेल अनि सभापतिकै दौडमा रहेका देउवा एउटै मञ्चमा थिए। घाम लागेको कारण पौडेल र प्रचण्डले छाता ओढेका थिए भने, देउवा छातामा अटाएका थिएनन्।
सोही तस्बिरबाट देउवालाई हटाएर आफू र प्रचण्ड मात्र देखिनेगरी पौडेलले फेसबुकमा राखेका थिए।
नेता पाैडेलकाे फेसबुकबाट
सो तस्बिरको अर्को राजनीतिक सन्दर्भ थियो– १० वर्षअघि २०६७ साल असोजमा जारी प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया।
२०६७ असार १६ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि तत्कालीन संविधानसभामा मतदान भइरहँदा प्रधानमन्त्रीको दौडमा थिए तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका उम्मेदवार पौडेल र तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल।
प्रधानमन्त्रीका लागि सातौँ पटक चुनाव भइसकेको थियो। तीन जनामध्ये कसैले पनि बहुमत ल्याउन सकेका थिएनन्। तत्कालीन अन्तरिम संविधानअनुसार संसदको बहुमतप्राप्त उम्मेदवार मात्र प्रधानमन्त्री बन्नसक्थ्यो।
कुनै पनि दलको बहुमत नरहेको तत्कालीन ६०१ सदस्यीय संविधानसभामा ३०१ ल्याउनु कठिन थियो।
तर, असोज २ गते कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले अब आफूले एउटा साहसिक निर्णय गर्ने घोषणा गरिदिए।
पौडेलले सेयर गरेको यो तस्बिर प्रचण्डको सोही घोषणापछिको हो। प्रधानमन्त्रीको दौडमा रहेका प्रचण्डले साहसिक निर्णय गर्ने घोषणा गरेपछि पौडेल खुसी भएका थिए।
आफूले प्रधानमन्त्री पदको प्रतिस्पर्धा छाडेर प्रचण्डले बाँकी रहेका दुई उम्मेदवार (पौडेल र खनाल) लाई मार्गप्रशस्त गरिदिएका थिए।
असोज ६ गते बसेको संविधानसभाको बैठकबाट प्रचण्डले आठौं पटकको मतदानपछि आफू उम्मेदवार नभएको घोषणा गरे। त्यसपछि प्रचण्ड र पौडेलबीचको सम्बन्ध थप सुधार हुँदै गएको थियो।
त्यसो त, १७औं पटकसम्म पुगेको सो मतदान प्रक्रियाबाट अन्ततः एमालेका खनाल प्रधानमन्त्री निर्वाचित भएका थिए।
यता कांग्रेसको १२औं महाधिवेशनले सभापतिमा सुशील कोइरालालाई निर्वाचित गर्यो भने देउवा पराजित भए।
२०७२ सालको फागुनमा भएको १३औं महाधिवेशनबाट कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए। पौडेललाई पराजित गरेर सभापति बनेका हुन्।
सभापति देउवाले गरेका निर्णयविरुद्ध डेढमहिनादेखि पार्टीको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पौडेलले १० वर्षअघि प्रचण्डसँग हर्षित मुद्रामा त्यही तस्बिर सार्वजनिक मात्रै गरेनन्, सभापति देउवालाई दुई जनासँगको दृष्यबाट हटाउन चाहे।
पुस २८ मा भारत गएका पौडेलले उपचारसँगै राजनीतिक भेटवार्ता पनि गरेका थिए। उनले भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेको बाहेक अन्य भेटघाटको तस्बिर भने सार्वजनिक गरेनन्।
तर, दिल्लीबाट फर्केलगत्तै उनले नेकपाका अध्यक्ष प्रचण्डसँग भेट गर्नुको राजनीतिक अर्थ रहेको नेताहरु स्वीकार गर्छन्। खुमलटारमा झण्डै एकघण्टा बसेका पौडेल र प्रचण्डबीच के के विषयमा कुरा भयो, खुलाइएको छैन। तर, स्वयं पौडेलले नै समसामयिक विषयसँगै सभामुख र उपसभामुखको चयनका विषयमा कुरा भएको सोही तस्बिरसँगै जारी गरेको वक्तव्यमा बताएका छन्।
सभामुख पदमा नेकपाका नेता अग्नि सापकोटाको मनोनयन लगत्तै भएको प्रचण्ड–पौडेल भेट र उनले सार्वजनिक गरेको तस्बिरले प्रचण्ड-पौडेल निकटतालाई संकेत गर्छ।
१० वर्षे सशस्त्र विद्रोहपछि शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्ड र पौडेलबीच राजनीतिक मात्र नभई पारिवारिकस्तरको सम्बन्ध पनि रहेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारी बताउँछन्।
कांग्रेसभित्रको आन्तरिक किचलो
पुस २७ गते कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको आन्तरिक गतिरोध अन्त्य गर्ने सहमति बन्यो।
त्यसअघि दुई पक्षबीच चर्केको विवादमा सहमति हुने कुनै छाँट देखिएको थिएन। तर, पुस २७ गते राति अबेर नेताहरुबीच सहमतिबाटै अगाडि बढ्ने समझदारी भयो।
के–के विषयमा सहमति बनेको हो, त्यसबारे नेताहरुले सार्वजनिक गर्न चाहेनन्।
‘पार्टीमा देखिएका सबैखालका गतिरोधलाई वार्ता र संवादकै माध्यमबाट तीनै नेता (देउवा–पौडेल र सिटौला) मिलेर समाधान खोज्ने र मिलेर जाने सहमति बनेको छ,’ देउवानिकट केन्द्रीय सदस्य रमेश लेखकले भने।
त्यसकै भोलिपल्ट उनी दिल्ली उडे।
नेपाल फर्किएको दुई दिनपछि पौडेलले विद्यार्थी संघका नेताहरुलाई माघ ६ गते आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए।
विभिन्न माग राख्दै मंसिर २६ देखि पार्टीको कार्यसमिति बैठक बहिष्कार गर्दै आएको पौडेल समूहसँग भएका निर्णायक वार्ता असफल भइरहेका बेला सभापति देउवाले पुस २७ गते सिटौलासहित त्रिपक्षीय वार्ता गरेर मिलेर जान तयार रहेको जनाउ गरेका थिए।
केन्द्रीय सदस्य लेखकका अनुसार स्वास्थ्य उपचार गरेर फर्किएपछि कांग्रेसभित्रको विवाद समाधान हुनेगरी सहमति बनेको थियो। पौडेल दिल्लीमा रहेकै बेला देउवाका विश्वासपात्र उपसभापति विमलेन्द्र निधि र पौडेलपक्षीय वार्ता टोलीका संयोजक प्रकाशमान सिंहसहित नेता कृष्णप्रसाद सिटौलाबीच पटक पटक वार्ता र संवाद भएका थिए।
तर, दिल्लीबाट फर्किएपछि पौडेलले आन्तरिक रुपमा आफ्नो समूहका नेतासँग छलफल गरेपनि सभापति देउवासँग भने गरेका छैनन्। बरु भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नेताहरुसँग बोहराटारमै छलफल गरेको तस्बिर सार्वजनिक गरियो। त्यसपछि उनले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड भेटे।
त्यसको भोलिपल्ट बुधबार सभापति देउवाले पौडेल, सिटौला लगायतका केही नेताहरुलाई बुढानिलकण्ठ बोलाएर छलफल गरे। सबै विवाद समाधान गर्ने निर्णायक भनिएको उक्त छलफल पनि बिना निष्कर्ष टुंगिएको छ। शुक्रबार फेरि बैठक बस्यो।
पौडेल समूहको बहिष्कारबीच पुस ११ गते देउवाले १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने, पार्टी विभागको संख्या बढाएर ४७ पुर्याउने, तरुण दल र नेविसंघको म्याद ६ महिना थप गर्ने निर्णय गरेपछि पौडेल पक्ष र सिटौला समूहले खारेज गर्न माग गरेका थिए।
पौडेल पक्षको पुस २१ गतेदेखि पार्टी कार्यालय सानेपामा बसेको बैठकले पनि पार्टीमा सबै निर्णय सहमतिका आधारमा गर्न सभापति देउवालाई सुझाव दिएको थियो। तीनदिन बसेको भेलापछि जिल्ला सभापतिहरुसँग देउवाले २५ गते आफ्नै निवासमा लन्च मिटिङ गरेका थिए।
Shares

प्रतिक्रिया