ad ad

राजनीति


नेपाललाई कर्मचारीले होइन, नेताले नै बिगारेका हुन् : राजेन्द्र लिङ्देन

नेपाललाई कर्मचारीले होइन, नेताले नै बिगारेका हुन् : राजेन्द्र लिङ्देन

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार १०:२९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई कर्मचारीले नभई नेताले नै बिगारेको बताएका छन्। 

साउदी अरब भ्रमणमा रहेका उनले जेद्दामा नेपाली संघसंस्थाका अगुवालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

‘हाम्रो देश कर्मचारीले होइन, राजनीतिक नेतृत्वले बिगारेको रहेछ, मन्त्री भएर सिंहदरबारमा रहँदाको छोटो अनुभवमा मैले त्यही अनुभूति गरेँ’, उनले भने, ‘देश बिग्रिनमा कर्चारीको भन्दा नेताकै हात छ। नेता ठीक भए कर्मचारी ठीक हुन्छन्।’

उनले करिब २ महिना आफूले ऊर्जा मन्त्रालय सम्हाल्दा सबै कर्मचारीको सहयोग पाएको पनि बताए। लिङ्देनले विद्युत् खरिद सम्झौतामा एक मेगावाटकै १० लाख रुपैयाँसम्म घुस लिने परिपाटी पनि आफूले देखेको सुनाए। 

‘म ऊर्जामा गएपछि चार वर्षदेखि हुन नसकेको विद्युत् खरिद सम्झौता १५ दिनमै भयो। हामीले एक कप चिपा नखाई विद्युत् खरिद सम्झौता गर्यौँ, कर्मचारीले नाइँ भनेनन् सहयोग नै गरे’, उनले भने, ‘पहिले त्यहाँ विद्युत् खरिद सम्झौतामा १ मेगावाटकै १० लाखसम्म घुस लिने चलन रहेछ।’

उनले सिंहदरबार यात्राको छोटो समयमै नेपालमा कर्मचारीभन्दा नेता भ्रष्ट रहेको थाहा पाएको पनि बताए। 

‘त्यसकारण मलाई थाहा भयो कर्मचारीभन्दा नेता बदमास भएपछि देश बिग्रिएको हो’, उनले अगाडि भने, ‘वैदेशिक रोजगारी जानेका लागि दुई आयोजना बनाएर ३५ प्रतिशत सेयर राखिदिऊँ भन्दा कर्मचारीले नाइँ भनेनन्। विद्युत् खेर नजान हामीले सात दिनमै हाइड्रोजन ऊर्जाको नीति लियौँ, त्यसमा पनि मलाई सबैले सघाए।’

उनले नेपालको विद्युत् उत्पादनको काम विदेशीलाई दिन नहुने बताए। ‘स्वदेशी लगानीमै बनाउन पनि हामीसँग पैसा छ। वैदेशिक रोजगारमा भएका र एनआरएनबाट पैसो उठाउन सकिन्छ’, उनले अगाडि भने, ‘देशभित्रै आह्वान गर्ने, नेपाल विद्युत् प्राधिकरणको सेयर निस्कासन गरे खर्बौँ पैसा जम्मा हुन्छ भने। नेतृत्वले व्यक्तिगत स्वार्थ र लाभहानी हेर्दैन भने कर्मचारीले असहयोग गर्दैन। देश सुनियतका साथ चलाउने हो  भने बन्न बनाउन कुनै समय लाग्दैन।’

उनले अहिले नै आदर्शका कुरा गरेर जादुको छडी जस्तो वैदेशिक रोजगारी बन्द गर्न नसकिने बताए। ‘तर ४०/५० हजार तलबका लागि युवाले बिहे गरेको भोलिपल्ट विदेश हिँड्नुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ’, उनले भने, ‘देशको नेतृत्व सम्हाल्नेले बदमासी नगर्ने हो भने केही वर्षमा धेरै युवालाई स्वदेशमा रोक्न सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .