ad ad

कला


सनी देओलको सम्पत्ति लिलाम गर्नबाट किन ‘ब्याक’ भयो बैंक?

सनी देओलको सम्पत्ति लिलाम गर्नबाट किन ‘ब्याक’ भयो बैंक?

नेपालखबर
भदौ ६, २०८० बुधबार १०:४५, काठमाडौँ

भाजपा सांसदसमेत रहेका बलिउड अभिनेता सन्नी देओल यतिबेला चर्चामा छन्। यसको कारण उनको फिल्म गदर–२ को सफलता मात्र होइन, बैंक अफ बडोदाको सूचना पनि हो, जसमा सनीको मुम्बईमा रहेको बंगला लिलामी गर्ने भनिएको थियो।

बैंकले सूचनामा डिसेम्बर २०२२ देखि गुरदासपुरका सांसद, सनी देओलले बैंक अफ बडोदामा ५५.९९ करोड ऋण तिर्न नसकेकाले धितो राखिएको उनको बंगला (घर) ई–लिलामी गरिने उल्लेख थियो। 

यो सूचना बैंकले यही अगस्ट १९ मा अखबारमा छापेपछि मानिसहरूले सनी देओललाई ऋण नतिरेकामा प्रश्न गर्न थाले। तर उनले यसलाई व्यक्तिगत मामिला भन्दै टिप्पणी गर्न अस्वीकार गरे।

तर, दुई दिनपछि बैंक अफ बडोदाले ‘प्राविधिक कारण’ भन्दै लिलामी सूचना फिर्ता लिएको थियो।

प्रश्न उठ्छन्– बैंकले आखिर किन यस्तो गर्‍यो? सनी देओल ऋण तिर्न तयार भएका हुन्? कि बैंकलाई कुनै दबाब आयो? बैंकले दिएको कारण कति बलियो हो? 

के हो काण्ड? 
अभिनेता सनी देओलले मुम्बईको जुहुस्थित ‘सनी भिल्ला’ बंगला धितो राख्दै बैंक अफ बडोदाबाट ऋण लिएका थिए। यो ऋणमा भाइ बबी देओल र बुबा धर्मेन्द्र सिंहलाई ग्यारेन्टरमा राखिएको थियो भने  ‘सनी साउन्ड प्रालि’लाई कर्पोरेट ग्यारेन्टर बनाइएको थियो।

मनी कन्ट्रोल न्युज वेबसाइटका अनुसार उनले सन् २०१६ मा फिल्म बनाउन उक्त ऋण लिएका थिए।

सन् २०१९ को लोकसभा चुनाव लड्दा सनी देओलले निर्वाचन आयोगलाई बुझाएको शपथपत्रमा आफूले झन्डै ५० करोड रुपैयाँ ऋण लिएको उल्लेख गरेका थिए। 

सो ऋण समयमै तिर्न नसकेपछि बैंकले सन् २०२२ को डिसेम्बर अन्त्यमा यसलाई निष्क्रिय सम्पत्ति (एनपीए) घोषणा गरेको थियो।

बैंकले के गर्‍यो? 
बैंक अफ बडोदाले सनी देओलबाट आफ्नो रकम असुल गर्न उनले धितो राखेको बंगला लिलाम गर्ने निर्णय गर्‍यो। र, यही अगस्ट १९ मा विभिन्न पत्रिकामा सूचना प्रकाशन गराई सन्नी देओलले लिएको करिब ५६ करोड रुपैयाँ र डिसेम्बर २०२२ देखिको लागेको ब्याज बाँकी रहेको उल्लेख गर्दै उनको बंगला लिलामी गर्न लागिएको जनाएको थियो। 

लिलामीका लागि बंगलाको आधार मूल्य ५१ करोड ४३ लाख र समय सीमा सेप्टेम्बर २५ राखिएको थियो। बैंकले इच्छुक खरिदकर्तालाई आधार मूल्यको १० प्रतिशत रकम जम्मा गरी अनलाइन लिलामीमा सहभागी हुन आग्रह गरेको थियो। 

तर बैंकले यो पनि स्पष्ट पारेको थियो कि देओलको बंगला हाल आफ्नो ‘सिम्बोलिक कब्जा’मा मात्र छ अर्थात् अझै पूर्ण कब्जामा छैन। इच्छुक खरिदकर्तालाई यो हेर्न सेप्टेम्बर १४ भित्र आउन आग्रह गरिएको थियो। 

त्यसको दुई दिनपछि ‘प्राविधिक कारण’ देखाउँदै बैंकले सूचना फिर्ता लिएको हो। यसपछाडि तीन कारण रहेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ। तीमध्ये पहिलो कारण उसले कति रकम असुली गर्ने भन्ने यकिन जानकारी आफूसँग नभएको उल्लेख गरेको छ।

ओरिएन्टल बैंक अफ कमर्सको एसेट रिकभरी म्यानेजमेन्ट शाखामा प्रमुख पदमा बसेका केशव खनेजाले बैंकको यो भनाइप्रति प्रश्न उठाएका छन्।

उनी भन्छन्, ‘बैंकले पत्रपत्रिकामा लिलामी सूचना जारी गर्दा कर्जाको बक्यौता रकम स्पष्ट लेखिएको हुन्छ, त्यसैले यसमा म कुनै आधार देख्दिनँ।’

बैंक अफ बडोदाले सूचना फिर्ता लिनुको दोस्रो कारण– लिलामी सूचना बंगलाको प्रतिकात्मक कब्जामा आधारित थियो भनेको छ। बैंकले अगस्ट १ मा मुख्य महानगरीय मजिस्ट्रेटसमक्ष कब्जाका लागि निवेदन दिएको थियो, जुन विचाराधीन छ।

केशव खनेजा भन्छन्, ‘बैंकले सरफेसी ऐनअनुसार जुन लिलामको सूचना जारी गरेको थियो, त्यस ऐनअनुसार बैंकले प्रतीकात्मक कब्जामा मात्रै पनि सम्पत्ति लिलाम गर्ने अधिकार छ। बैंकले सूचनामा सांकेतिक कब्जाको कुरा स्पष्ट लेखेको थियो।’

बैंक अफ बडोदाले दिएको तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कारण भनेको बिक्रीको सूचना प्रकाशित भएपछि सनी देओलले उनीहरूलाई बक्यौता तिर्नको लागि सम्पर्क गरेका छन्।

बैंकिङ विज्ञ तथा भ्वाइस अफ बैंकिङका संस्थापक अश्विनी राणा भन्छन्, “कसैले बिक्री सूचना प्रकाशित भएको ३० दिनभित्र ऋण चुक्ता गरेमा बैंकले सूचना फिर्ता लिन्छ।”

तर यहाँ ध्यान दिनु पर्ने कुरा यो हो कि बिक्री सूचना प्रकाशित भएपछि व्यक्तिले सम्पूर्ण ऋण चुक्ता गर्नुपर्नेछ।

बैंकिङ विज्ञ केशव खनेजा भन्छन्, ‘बिक्रीको सूचना आएपछि व्यक्तिले सूचना अनुसारको रकम तिर्नुपर्छ। नोटिसमा ५६ करोड रुपैयाँ बक्यौता भएमा सोही रकम बैंकलाई तिर्नुपर्नेछ, त्यसपछि मात्र सम्पत्तिको लिलामी रोकिन्छ । सनी देओलसँग सम्बन्धित सम्पत्ति बिक्री सूचनामा पनि स्पष्ट रूपमा लेखिएको छ। बैंकले बिक्री सूचनाको एक महिना पछि लिलामी राख्छ र यस बीचमा व्यक्तिले ऋण तिर्न सक्छ।

अब प्रश्न उठ्छ– सनी देओलले बैंकको करिब ५६ करोड रुपैयाँ ऋण चुक्ता गरे त? यो प्रश्नको जवाफ बैंकले अहिलेसम्म दिएको छैन। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .