नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ।
आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताएका हुन्।
उनले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताए। गिरीले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भीर हुनुपर्ने बताए। उनले सरकारको अकर्मण्यताका कारण संसद अवरुद्ध भएको जिकिर गरे।
सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वहरुको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरुलाई सीआईबीले छानबिनको दायरामा ल्याउन नसकेको बताए।
गिरीले भने, ‘सुन तस्करी प्रकरणमा राजनितीक व्यक्तिहरुपनि सहभागी छन् भन्ने कुरा विभिन्न मिडियाबाट सार्वजनिक भइरहेका छन्। ती मान्छेहरुलाई सिआईबीले छानबिनको दायरामा पनि ल्याउन सकेन। सरकारले छानबिनमा ल्याउनपनि चाहेको अवस्था छैन। क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिने कुरा धेरै गम्भिर विषय हो। उच्चस्तरीय छानबिन समिति अपरिहार्य छ भन्ने कुरा पछिल्ला घटनाले पनि पुष्टी गरेका छन्।’
सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसदमा बिजनेस अगाडि बढाउन नसकिने बताए।
गिरीले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दोस्रो चरणको छानबिन गर्छौं, फाइल खोल्छौं भन्दै प्रहरीका अधिकारी सरुवा गर्ने काम गरेको आरोप लगाए।
Shares

प्रतिक्रिया