ad ad

राजनीति


सभामुखले भने : मैले मात्रै सदन खुलाउन सकिनँ, प्रधानमन्त्रीको जवाफ : प्रतिपक्षी नेतासँग वार्ता गर्छु

सभामुखले भने : मैले मात्रै सदन खुलाउन सकिनँ, प्रधानमन्त्रीको जवाफ : प्रतिपक्षी नेतासँग वार्ता गर्छु

प्रधानमन्त्री र सभामुखको भेटवार्ता। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
भदौ १, २०८० शुक्रबार ११:१३, काठमाडौँ

गत साउन १० गतेदेखि अवरुद्ध संघीय संसद् खुलाउने पहलले अझै मूर्त रुप लिन सकेको छैन।

राष्ट्रपति रामचन्द्र पौडेलले समेत चासो लिएर सदन खुलाउन सरकारको नेतृत्वदेखि प्रतिपक्षी नेतासम्म छलफल गरिरहेका छन्।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि छलफल गरिसकेका छन्।

सत्ता गठबन्धनको बैठकले पनि सदन खुलाउने प्रयासमा सफलता पाउन नसकेपछि शुक्रबार सभामुख घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगे।

जहाँ शुक्रबार बिहान करिब एक घण्टासम्म दुई नेताबीच संवाद भएको छ। संवादका क्रममा सभामुख घिमिरेले आफ्नो तर्फबाट सक्दो कोसिस गरेर पनि सदनमा अड्किएको गाँठो फुकाउन नसकेको बताएका छन्।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्रीसँगको छलफलका क्रममा घिमिरेले सदन नल्दा जनतामासमेत नकारात्मक सन्देश गएको बताएका थिए। 

‘सदन नचल्नु राम्रो भएन। माननीयहरुले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ’, घिमिरेले भने, ‘दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। आमजनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्।’ 

घिमिरेले सदन खुलाउने कुरामा सत्ता र प्रतिपक्ष गम्भी हुनुपर्ने पनि बताएका छन्। 

‘कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्’, उनले भने, ‘संसदीय समितिको नेतृत्व (सभापति)  चयन हुन सकेको छैन। संसद्‍मा कानुन निर्माण भएनन् भन्ने गुनासो छ।’

घिमिरेले आफ्नोतर्फबाट सक्दो कोसिस गरेर पनि सफलता पाउन नसकेको बताएका छन्।

‘सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु’, उनले प्रधानमन्त्रीलाई भने, ‘तर, परिणाममा निस्किन सकेन। शीर्ष नेताहरु नै घण्टौँ बस्दा पनि सहमति भएन।’

त्यसपछि प्रधानमन्त्री दाहालले आफूले पनि सदन खुलाउन पहलकदमी लिने बताएका छन्।

उनले यसबारेमा अब प्रतिपक्षी नेतासँग पनि संवाद अघि बढाउने बचन सभामुखलाई दिएका छन्।

‘म पनि सदन खुलाउन भूमिका खेल्छु। तपाईं पनि लाग्नुहोस्’, प्रधानमन्त्रीले छलफलका क्रममा भने, ‘छिट्टै सहमति गर्नैपर्छ। म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु।’

गत साउन ३ गते बरामद भएको साढे ६० केजी ७१६ ग्राम सुन प्रकरणमा उच्चस्तरीय समिति माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गरिरहेको छ।

त्यसयता सत्ता र प्रतिपक्षबीच ठोस वार्ता पनि हुन सकेको छैन। यस्तोमा सभामुख र प्रधानमन्त्रीबीचको छलफलबाट प्रतिपक्षसँग पनि संवाद गर्ने तयारी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .