ad ad

राजनीति


कांग्रेस बैठकमा सुनिल शर्मा : गृहमन्त्रीले राजीनामा दिनुपर्छ, संसद्‍मा बोल्न नदिए अनशन बस्छु, विद्रोह गर्छु

कांग्रेस बैठकमा सुनिल शर्मा : गृहमन्त्रीले राजीनामा दिनुपर्छ, संसद्‍मा बोल्न नदिए अनशन बस्छु, विद्रोह गर्छु

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार १७:३०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसद् बैठकमा बोल्न नदिने हो भने विद्रोहको चेतावनी दिएका छन्।

आइतबार बसेको पार्टी संसदीय दलको बैठकमा आफ्ना कुरा राख्ने क्रममा नेताहरुलाई यस्तो चेतावनी दिएका हुन्। 

‘मैले आजको बैठकमा म गिरफ्तार भएको कुरा पार्टी नेताहरुलाई ब्रिफिङ गरेँ। नेपाली कांग्रेसका सबै सांसदहरुलाई मलाई सघाएको कुरामा मैले धन्यवाद दिएँ’, उनले भने, ‘मैले मेरो स्ट्यान्डलाई कायमै राखेर भनेको छु। मलाई सचेतकज्यूले अस्तिको बैठकमा बोल्न दिनु भएन। अबको बैठकमा पनि बोल्न दिनु भएन, प्रतिबन्ध लगाइयो, मुख थुनियो भने म विद्रोह गर्छु भनेको छु।’

उनले आफूलाई संसद्‍मा बोल्न दिनुपर्ने कुरा दोहोर्‍याउँदै त्यसबेला कारबाही नगर्न नेतृत्वलाई भनेको सुनाए। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आतंककारीको संज्ञा दिए। 

‘मलाई आमजनमानसमा भ्रम छर्ने गरी गिरफ्तार गरियो। यो सरकार आतंककारी हो। यो आतंककारी सरकारले मलाई घण्टौँसम्म गैरकानुनी रुपमा राख्यो। यो आतंककारी सरकारलाई चाँडोभन्दा चाँडो बिदा गर्नुपर्छ’, उनले भने, ‘मेरोबारेमा वीरबहादुर बलायर र अर्थमन्त्री प्रकाशशरण महतले पनि कुरा राखे। तर मैले जवाफ दिनै नपाई उनीहरु हिँडे। जनताले हामीलाई कुरी कुरी गर्ने अवस्था छ। हामीले थाहा छैन भन्दा जनताले पत्याउँदैनन्।’

उनले १ क्विन्टल सुन गृहमन्त्री र अर्थमन्त्रीलाई थाहा नभई भित्रिनै नसक्ने बताए। ‘सुनकाण्डको छानबिनको विषयमा प्रदीप पौडेलसहितले कडासँग कुरा राख्नु भएको छ। हामीले विगतका अनेक काण्डबारे बलियो समिति बनाउनुपर्छ भनेका छौँ’, उनले भने, ‘विगतका सबै काण्डबारे छानबिन समिति बनाउनुपर्छ। प्रधानमन्त्रीहरुमाथि पनि छानबिनका लागि लोकपाल विधेयक ल्याउनुपर्छ।’

उनले आफूलाई अर्थ र गृहमन्त्रीको राजीनामा मागेकै भरमा मलाई पक्राउ गरिएको बताए। 

‘मेरो पहिलेको अडान यथावत छ। गृहमन्त्रीको राजीनामा नआउन्जेल मेरो बटमलाइनअनुसार बोल्न दिनु भएन भने विद्रोह गर्छु’, उनले भने, ‘हाम्रो त शेरबहादुर दाइलाई प्रधानमन्त्री बनाएर जाने भन्ने हो। गृहमन्त्रीले राजीनामा नदिएसम्म म बोलिरहन्छु। म संसद्‍मा एक्लै भए पनि बोलिरहन्छु। मेरो बटमलाइन लागु नभएसम्म बोल्छु। मैले संसदीय दलमा पनि बोल्न नदिए संसद्‍मै अनशन बस्छु भनेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .