ad ad

राजनीति


नेविसंघको जम्बो समितिप्रति चर्को असन्तुष्टि, विद्यार्थीहरुले भेटे देउवालाई

नेविसंघको जम्बो समितिप्रति चर्को असन्तुष्टि, विद्यार्थीहरुले भेटे देउवालाई

ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थी नेताहरु। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २५, २०८० बिहिबार १३:९, काठमाडौँ

नेपाल विद्यार्थी संघको जम्बो केन्द्रीय समितिलाई लिएर असन्तुष्टि बढ्दै गएको छ। 

मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघमा ७१० जनालाई केन्द्रीय सदस्य बनाउन गरेको मनोनयनप्रति असन्तुष्टि देखिएको हो।

उक्त मनोनयनलाई लिएर असन्तुष्ट नेता कृष्ण सिटौला समूहले सभापति देउवालाई धुम्बाराही पुगेर ध्यानाकर्षण पत्र नै बुझाएका छन्।

डेढ वर्षपछि आएको केन्द्रीय कार्यसमितिले कुनै रुपमा समावेशीताको सिद्धान्त पालना नगरेको भन्दै विद्यार्थीहरुले सभापतिलाई देउवालाई ध्यानाकर्षण गराएका हुन्। 

‘समावेशीकरण लोकतान्त्रिक शासनको अवधारणा हो। राज्यको मूलधारमा आउन नसकेका वर्ग र समुदायलाई समेट्न गरिने प्रयास समावेशीकरण हो। नेविसंघले सदैव  समावेशीकरणलाई मध्यनजर गर्दै अघि बढ्नु पर्छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेविसंघको विधान, २०२७ (सातौं संशोधन २०७५) भाग-१ धारा ३ : उद्देश्य जसमा समावेशी सिद्धान्तको कार्यन्वयन गरी आमविद्यार्थीको प्रतिभा, विकास र  अवसरको थलो बनाउने भनिएको छ। समावेशी सिद्धान्तको कार्यन्वयन गर्ने कुरालाई  लेखिएको छ। तर नेतृत्वले विधानविपरीत ७११ जनाको कमिटी बनाउँदै गर्दा लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने र विचार मान्ने  विद्यार्थीको समावेशीकरणलाई लत्ताएर संगठन बनाउनु आफैँमा लज्जास्पद विषय हो।’ 

विद्यार्थीहरुले महिला, मधेसी, आदिवासी-जनजाति, दलित, अपांग, अल्पसंख्यक तथा पिछडिएका वर्गका लागि समावेशी सिद्धान्तको परिपालना नेविसंघले गर्नुपर्ने पनि भनेका छन्। 

‘७११ जनाको कमिटीमा कुनै पनि लिङ्ग र समुदायलाई नियमअनुरुप समावेश गरेको पाइँदैन, यो सरासर गलत हो’, त्रिभुवन विश्वविद्यालय स्ववियु कोषाध्यक्ष पदमा भुसालले भनिन्, ‘हामी लोकतान्त्रिक विचार मान्ने संगठनका विद्यार्थी नेता भएर पनि लोकतान्त्रिक नियम नमान्नु दु:खद कुरा हो। यो आफैँमा ठूलो अन्यायपूर्ण निर्णय हो।’

देउवालाई ध्यानाकर्षण पत्र बुझाउन नेपाल ल क्याम्पसका स्ववियु सदस्य सपना गौतम र विवेचना न्यौपाने, शंकरदेव क्याम्पस स्ववियु सदस्य रन्जिता अधिकारी  अस्कल क्याम्पसका नेविसंघ नेता श्याम शाह, किरण चौलागाईं, ल क्याम्पसका नेविसंघ नेतृ केरिना गहतराज, त्रिभुवन विश्व विद्यालयमा नेविसंघ नेता सौरभ कोइराला,  कैलाशकुट बहुमुखी क्याम्पस नेविसंघ नेता विनोद विक र नेविसंघ नेता मोहम्मद अल्ताफ नेपालीसहित पुगेका थिए। 

नेविसंघको मनोनयनलाई लिएर बुधबार दुई समूहबीच कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडपको अवस्था भएको थियो।

यो मनोनयनप्रति कृष्ण सिटौला समूहले आपत्ति जनाउँदै विद्रोहको चेतावनी दिएको छ। मनोनयनमा असन्तुष्टहरुले समानान्तर कार्य समितिको चेतावनी पनि दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .