ad ad

राजनीति


माधव नेपालको स्पष्टीकरण : ललिता निवासमा बदमासी गरेको छैन, असल नियतले ‘मास्टर प्लान’ अघि बढाएँ

स्विट्जरल्यान्ड पुगेर भने– नबिराउनु, नडराउनु
माधव नेपालको स्पष्टीकरण : ललिता निवासमा बदमासी गरेको छैन, असल नियतले ‘मास्टर प्लान’ अघि बढाएँ

नेपालखबर
साउन २३, २०८० मंगलबार १६:१६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरणबारे स्विटजरल्यान्ड पुगेर प्रष्टीकरण दिएका छन्।

सोमबारबाट युरोपियन मुलुकको भ्रमणमा लागि निस्किएका अध्यक्ष नेपालले स्वीट्जरल्यान्ड पुगेर आफूले बालुवाटार जग्गा प्रकरणमा बदमासी नगरेको दाबी गरेका छन्। 

‘नबिराउनु, नडराउनु। मैले केही बिराएको छैन। बदमासी गरेको छैन। मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टर प्लान अघि बढाउने पक्षमा निर्णय गरेको हुँ,’ उनले स्पष्टीकरण दिँदै भनेका छन्। 

उक्त प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने भन्दै सर्वोच्च अदालतको आइतबारको निर्णयमा आफूले कुनै प्रतिक्रिया नदिने नेपालले बताएका छन्। 

सर्वोच्चले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल र अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि पनि अनुसन्धानको बाटो खुलेको छ। 

‘कुनै किसिमको अनुचित काम मैले गरेको छैन। कुनै पनि व्यक्तिलाई उन्मुक्ति दिने होइन, छानबिन गर्ने हो। बदमासी गरेको छ भने दण्डित गर्ने हो,’ उनले भने, ‘मैले बदमासी गरेको छैन भन्ने मलाई पूरा विश्वास छ। मैले राष्ट्र र राष्ट्रिय सम्पत्तिको विरुद्ध, भ्रष्टाचारको पक्षमा मुछिने कुनै काम गरेको छैन। मैले अदालतको निर्णयबारे केही भन्नुपर्ने छैन।’

२०६६ साल चैत २९ गते, २०६७ साल वैशाख ३१ गते र २०६७ साल साउन २८ गते तीन पटकसम्म नेपाल नेतृत्वको मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरी जग्गा सट्टा भर्ना दिइएको थियो। 

प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोही खडा गरिएको थियो। यस प्रकरणमा सर्वोच्च अदालतले नीतिगत निर्णय गर्नेमाथि पनि कारबाही चलाउन आदेश दिएको छ।

सर्वोच्चको उक्त आदेशअनुसार तत्कालीन तीनजना भूमिसुधार मन्त्रीहरु विजय गच्छदार, डम्बर श्रेष्ठ चन्द्रदेव जोशी तथा राज्यमन्त्री सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .