ad ad

राजनीति


कृष्ण सिटौला भन्छन् : संविधान र गणतन्त्र आयो, हामीले के पायौँ भनेर जनताले सोध्न थाले

कृष्ण सिटौला भन्छन् : संविधान र गणतन्त्र आयो, हामीले के पायौँ भनेर जनताले सोध्न थाले

नेपालखबर
साउन २३, २०८० मंगलबार १६:११, काठमाडौँ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अबको पाँच वर्षमा ठूला दल र जनप्रतिनिधि पुरानै ढर्रामा अघि बढिरहे राजनीतिक प्रणालीले नै नोक्सानी बेहोर्न सक्ने बताएका छन्।

नेपाल प्रेस युनियन काठमाडौं शाखाका नवनिर्वाचित कार्यसमिति सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सिटौलाले २०७४ मा भएको स्थानीय तह निर्वाचनपछि पनि जनताले परिवर्तनको अनुभूति गर्न नसकेको गुनासो बढेको बताए। 

राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधि बितेको पाँच वर्षको जस्तै पुरानै ढंगबाट अघि बढे अहिलेको राजनीतिक सिस्टमले नै नोक्सानी बेहोर्नु पर्ने उनले बताए।

‘देशमा परिवर्तन आयो, संविधान बन्यो, गणतन्त्र आयो, तर जनताले हामीले के पायौं भनेर प्रश्न गर्न थालेका छन्, जनताको गुनासो बढेको सुनिन्छ’, उनले भने, ‘राजनीतिक दलहरुले सुन्नु पर्दैन?, जनप्रतिनिधिले जनताको गुनासो सुन्नु पर्दैन?, बितेको पाँच वर्षमा जस्तै चल्ने हो भने राजनीतिक सिस्टमले नै नोक्सानी बेहोर्नुपर्ने अवस्था आउन सक्छ।’

सिटौलाले संविधान कार्यान्वयनमार्फत जनतालाई लोकतन्त्रको उपलब्धि दिलाउनु पर्ने पनि बताएका छन्। 

‘जनताले महसुस गर्नुपर्छ कि परिवर्तन भयो, संविधान र संविधान बमोजिमको राज्यव्यवस्थाबाट यो यो कुरा प्राप्त भयो’, उनले भने, ‘किसानले खुसी मान्ने ठाउँ आओस्, त्यसलाई प्रेस, कर्मचारी जगत, समग्र नेपाली जनताले महसुस गर्न पाउनुपर्छ।’

सिटौलाले अहिले सत्ता पक्ष र प्रतिपक्षको उद्देश्य सत्ता जोगाउने र सत्ता बदल्ने तर्फमात्रै केन्द्रित भएको बताए। 

‘अहिले सत्ता र प्रतिपक्षको उद्धेश्य कसरी सत्ता प्राप्त गर्ने र कसरी सत्ता बदल्ने भन्ने मात्र देखिन्छ, सत्ता टिकाउने र सत्ता गिराउने भन्दा फरक सोच संसद्‌मा प्रस्तुत भएकै पाउँदिनँ’, उनले भने। 

कार्यक्रमा पूर्व रक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधानले संविधानको निर्माणमा अभिभावक बनेको कांग्रेसले नै त्यसको संरक्षण गर्न अभिभावकत्व लिनु पर्ने समय आएको बताए।

प्रेस युनियन काठमाडौका अध्यक्ष महेश गौतमले संविधान बनाउन भूमिका खेलेका दलले नै पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्न नसक्दा प्रेस जगत सधैँ असुरक्षित रहँदै आएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .