राजनीति


चितवनमा पकड बढाउन रविले ल्याए मतदाताकेन्द्रित योजना

नि:शुल्क बसदेखि विदेशबाट फर्किनेलाई रोजगारीसम्म
चितवनमा पकड बढाउन रविले ल्याए मतदाताकेन्द्रित योजना

नेपालखबर
साउन १७, २०८० बुधबार १५:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविले चितवनमा पकड बढाउने गरी मतदातामाझ सिधै पुग्ने  विभिन्न कार्यक्रम घोषणा गरेका छन्। 

भरतपुरमा सचिवालय स्थापना गर्दै उनले विभिन्न ११ कार्यक्रम घोषणा गरेका हुन्। 

उनले चितवनमा पकड बलियो बनाउने रणनीति अनुसार चितवन क्षेत्र नम्बर २ स्थित महिलाहरुका लागि  नि:शुल्क ‘ब्लु बस’ पनि सञ्चालनमा ल्याएका छन्।

गत वैशाख १० गतेको उपनिर्वाचनबाट विजयी भएको १०० दिन पुगको अवसरमा उनले  नि:शुल्क ‘ब्लु बस’ सेवादेखि मतदातमाझ पुग्ने सामाजिक कार्यक्रमको सुरुवात गरेका हुन्। 

जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने उद्धेश्यले विभिन्न कार्यक्रम घोषणा गरिएको उनले बताए। 'सोच्यौँ,बोल्यौ र गर्‍यौँ सय दिनमा हामी’ नारासहित रविले निःशुल्क बसदेखि घुम्ती स्वास्थ्यसम्मका कार्यक्रम घोषणा गरे।

वृद्धवृद्धालाई नि:शुल्क स्वास्थ्य सेवा
निःशुल्क स्वास्थ्य सेवामा रविले ६५ वर्षमाथिका नागरिकलाई लक्षित गरेका छन्। हरेक दिन नयाँ टोलमा पुगेर प्राथमिक उपचार दिन यो सेवा सुरु गरेको उनले बताए। 

मोबाइल क्लिनिक नाम दिएर एम्बुलेन्समार्फत स्वास्थ्यकर्मी टोलटोलमा पुग्ने छन्। 

त्यस्तै १०० दिनको प्याकेजमा रविले विपन्न परिवारका लागि पाँच लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा गरेका छन्। 

स्वास्थ्य बीमामार्फत यो कार्यक्रम अगाडि बढाइने छ। सुरुमा १०० जना विपन्न परिवार छनोट गरी काम थालिएको उनले बताए। यसका लागि स्वास्थ्य बीमा कार्ड पनि बनाइने छ।

देश फर्किनेलाई रोजगारी
लामिछानेले नेपालमा फर्कन चाहने सयजना भन्दा बढीलाई जागिर दिने बताए। उनले बिनापैसा विदेशबाट फर्काएर रोजगारी दिने बताए। 

‘चुनावमा बोलेअनुसार फ्री टिकटमा नेपाल फर्किन चाहने १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौँ, त्यो पनि ‘बिना ढेउवा के’, उनले भने। 

सार्वजनिक सुनुवाइ
रविले चितवन निर्वाचन २ मा हरेक ४–४ महिनामा सार्वजनिक सुनुवाइ गर्ने भएका छन्। 

उनले अब आफ्नो निर्वाचन क्षेत्रमा आगामी भदौ १० गते पहिलो सार्वजनिक सुनुवाइ हुने बताए। त्यहाँ नागरिकले सरोकारवालासँग आफ्ना गुनासो राख्नेछन्। 

नमुना विद्यालय
रविले आफ्नो निर्वाचन क्षेत्रका दुई विद्यालयलाई प्रविधिमैत्री बनाउने योजना ल्याएका छन्।  

चितवन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने रामनगर माध्यमिक विद्यालयर चर्तुमुखी माध्यमिक विद्यालयको कक्षा ११ र १२ लाई पहिलो चरणमा नमुना बनाउने घोषणा उनले गरे। 

त्यसपछि आफ्नो क्षेत्रका अन्य विद्यालयलाई पनि नमुना बनाउने योजना उनले सुनाए। 

विद्यालयको स्तरोन्नति
रविले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत इच्छाकामना गाउँपालिकास्थित राष्ट्रिय आधारभूत विद्यालयको स्तरोन्नति गरेर नमुना बनाउने बताए। 

कक्षा ७ सम्म पढाई हुने यो विद्यालयलाई कक्षा १२ सम्म स्तरोन्नति गरेर आवासीय बनाउने योजनासहित काम थालिने उनले बताए। 

हेलो रवि!
सांसद लामिछानेले जनताको गुनासो सुन्न 'हेल्लो रवि'को सुरुवात गरेका छन्। सचिवालय र अनलाइनमार्फत जनताको गुनासो सुन्ने व्यवस्था मिलाइएको उनले बताए। आएका गुनासोको सम्बोधन सचिवालयमार्फत गरिने उनले बताए। 

आरएटी समूह
प्राकृतिक विपत्तिमा सघाउने योजना पनि उनले ल्याएका छन्। जसअनुसार र्‍यापिड एक्सन टिम (आरएटी) बनाउने योजना उनको छ। यो टीमले विपदमा नागरिकको उद्धार र सहयोग गर्नेछ।

वृक्षारोपण
पूर्वगृहमन्त्रीसमेत रहेका उनले गत वैशाख १० को उपनिर्वाचनमा पाएको ५४ हजार १ सय ७६ मत बराबरका विरुवा रोप्ने योजना पनि सुनाए। उनले यो अभियानमा आफूलाई भोट दिने सबै मतदातालाई सहभागी गराइने बताए।

चितवन क्लब
उनले आफ्ना कामलाई सहयोग गर्न चितवन क्लब गठन गरेका छन्। विदेशका सबै चितवनबासीलाई एकजुट भएर साथ दिन पनि उनले अपिल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .