राजनीति


सबै नेता बिग्रिएका होइनन्, कतिपय नेता बिग्रिए भन्नुपर्‍यो : ओली

सबै नेता बिग्रिएका होइनन्, कतिपय नेता बिग्रिए भन्नुपर्‍यो : ओली

नेपालखबर
साउन १५, २०८० सोमबार १८:५५, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताएका छन्।

अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता खालका लेख, रचना सम्प्रेषित नगर्न पनि साहित्यकारहरूलाई आग्रह गरे।

अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाहरुको दाँत २८ हुन्छ भनेजस्तै हाम्रा स्रष्टाहरूले पनि सबै नेताहरूलाई बिग्रिएको भन्नु उस्तै हुने ओलीको भनाइ छ। 

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘युगदूत’ नामक पुस्तक विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले साहित्यकार वासुदेव अधिकारीद्वारा लिखित ‘सबै नेता बिग्रिए’ शीर्षक कविताको रचनालाई उद्धृत गर्दै सो कुरा बताएका हुन्।

‘वासुदेव अधिकारीजीको चिन्ता त्यहीँ हो। मुहानलाई फोहोर पार्नु हुँदैन। म वासुदेवजीलाई कति मात्रै भन्छु भने सबै मुहान फोहोर छैनन्। अनि अरस्तुले दाँत गर्ने जस्तो हुनु भएन। अरस्तुको दुईटी श्रीमति रहेछन्। एउटी जेठी श्रीमती, अर्की कान्छी श्रीमती। २१ वर्षदेखि ३१ वर्षसम्ममा मात्रै बुद्धि बंगारा पलाउँछ,’ ओलीले भने, ‘कान्छी श्रीमती २० वर्षकै ल्याएछन्। उनले जे पनि जिज्ञासा राख्ने, जेमा पनि जान्न खोज्ने, जेमा पनि बुझ्न खोज्ने। आफ्ना दाँत छामे, ३२ वटा छन्। महिलाका दाँत कति वटा हुन्छन भनेर गन्न मन लाग्यो, हेर्न मन लाग्यो उनलाई। ए कान्छी, यहाँ आउ त भनेर बोलाएर दाँत गने। २८ वटा मात्रै छन्। र, लेखि हाले–महिलाका दाँत २८ वटा हुन्छन्। २१ वर्षपछि मात्रै बद्धि बंगारा पलाउँछ भन्ने कुरा याद नराख्दा वा जेठी श्रीमती पनि बोलाएर दाँत नगन्दा नेता सप्रिएनन भनेजस्तो हुन्छ क्या।’

स्रष्टाहरूलाई कतिपय नेताहरू बिग्रिएको कुरा सत्य भएकाले त्यस्ता तथ्यलाई आत्मासाथ गरेर साहित्यिक सृजना गर्न सुझाव समेत दिए। तर सबै नेता बिग्रिएको भन्न नमिल्ने उनको तर्क थियो। 

‘बिग्रिएकै छैनन् क्या कतिपय नेता त। त्यसकारण सर्जक साथीहरुलाई म के आग्रह गर्न चाहन्छु भने कान्छी श्रीमतीलाई मात्रै बोलाएर, कान्छी श्रीमतीको मुख हेरेर, उनको मात्रै गनेर महिलाको दाँत २८ वटा हुन्छन भनेर नलेखौं,’ ओलीले भने, ‘त्यसो गर्दा पर्याप्त भएन। जेठीको त दाँत पनि गनिएन। जसले गर्दाखेरी यथार्थ आएन। कतिपय नेता बिग्रिए भन्नुपर्‍यो क्या। बिग्रिनेहरुले अरु पनि म जस्तै हुन भनेर कराए। तर सबै नेता बिग्रिएका होइनन्।’

अध्यक्ष ओलीले राजनीतिमा जे पनि हुन्छ भन्न नमिल्ने पनि बताए। राजनीति सबै नीतिहरूको पनि मुल नीति भएकाले यसमा ढाँटछल, धोका आदि हुनै नहुने उनले बताए। 

‘राजनीति भनेको सबै नीतिहरुको मूल नीति हो। त्यसकारण राजनीति भनेको भ्रष्ट नीति, छुल्याहा नीति, चुक्लीचाक्लीवाला नीति, ढाँट छलवाला नीति, धोकावाला नीति होइन,’ ओलीले भने, ‘राजनीतिमा यस्तो त भइहाल्छ नि भन्ने चलन छ आजकाल। राजनीतिमा नहुनुपर्ने कुरा हुनु हुँदैन। राजनीतिमा गर्न नहुने काम पनि गर्न हुने, अपवित्र पनि पवित्र हुने भन्ने हुँदैन। राजनीति नीतिहरूको मूल नीति हो। यो सबै नीतिहरुको मुहान भएको हुनाले मुहानलाई धमिलो बनाउनु हुँदैन।’

ओलीले नेपालले सामाजिक न्याय र समानताको क्षेत्रमा विकसित देशहरुले भन्दा बढी प्रगति गरेको दाबी समेत गरे। महिलाहरुले ३३ प्रतिशतको सहभागिता जनाउने कुराको दृष्टान्त दिँदै उनले सो कुरा बताएका हुन्। 

‘त्यसकारण म के आग्रह गर्छु भने हामीेले दिशा निर्देश गर्ने खालका यस्ता रचनाहरु जो हाम्रो ट्रेडिशन हो, परम्परा हो। बुद्धको भनाई पनि के छ भने मैले भनेका कुरा पहिलो तथ्यहरूसँग भिडाएर हेर, अनि पत्याऊ। हामीले तथ्यकुरा, सही कुराहरु प्रभावकारी ढंगले पस्किनु पर्दछ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad