चार महिनापछि आज प्रदेश पाँचको हिउँदे अधिवेशन सुरु हुँदै छ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज दिउँसो १ बजेका लागि प्रदेशसभाको हिउँदे अधिवेश आह्वान गरेका छन्। गत जेठ २ गतेदेखि सुरु भएको बजेट अधिवेशन असोज २ गते अन्त्य भएको हो। सरकारले विजनेस दिन नसक्दा ४ महिना संसद बैठक नचलेको हो।
‘हिउँदे अधिवेशनलाई सरकारले पर्याप्त बिजनेस दिन्छ। अभाव हुँदैन’, सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भने।
उनका अनुसार हिउँदे अधिवेशनमा सुशासन, स्थानीय तह सम्बन्धी, विश्वविद्यालय, वातावारण, लोक सेवा, चलचित्रसम्बन्धी गरी सरकारले ६ वटा विधेयक संसदमा पेस गर्दै छ।
प्रदेश सभाको चौथो अधिवेशनसम्म ४९ वटा विधेयक पारित भइसकेका छन्। ‘संघीय कानुन सबै नबनेकाले अब हामीले बाँझिएका कानून संशोधन गरेर भए पनि कानुन निर्माणलाई तीव्रता दिन्छौं। संसदलाई निरन्तर चलाउन बिजनेस दिन्छौं’, उनले भने।
अर्कोतर्फ यो अधिवेशनमा प्रदेश स्थायी राजधानी र नामकरणको टुंगो लाग्ने सम्भावना छ। प्रदेश राजधानी र नामकरण सिफारिस गर्न बनेको विशेष समितिले यसअघि नै प्रतिवेदन बुझाएको छ।
सांसदहरु प्रदेशको नाम लुम्बिनी राख्न सहमत छन्।
तर राजधानी कहाँ बनाउने भन्ने विषयमा फरक फरक मत राख्दै आएका छन्। सांसदहरुले आफ्नो अनुकूल राजधानीका विषयमा बोल्दै हिँडे पनि राजधानीका विषयमा दलहरुबीच औपचारिक छलफल भने भएको छैन।
मुख्यमन्त्री शंकर पोखरेल बुटवल राजधानी गराउन त्यति सकारात्मक छैनन्। उनले प्रायः भाषणहरुमा प्रदेश राजधानी भर्जिनल्याण्डमा सबैको सहमतिमै तोकिने बताउँदै आएका छन्। उनले नयाँ ठाउँको विकास गर्न पनि राजधानी सोहीअनुसार तोकिनुपर्ने तर्क गर्दै आएका छन्।
प्रदेशमा नेकपाका ६१, काँग्रेसका १९, समाजवादी पार्टी नेपालका ५, राजपा र राष्ट्रिय जनमोर्चाका १/१ जना सांसद छन्। बागमती प्रदेशजस्तै नेकपाले आफ्ना सांसदलाई ह्विप लगाएको खण्डमा नेकपाले चाहेको ठाउँमा प्रदेश राजधानी तोकिनसक्ने आँकलन गरिएको छ।
Shares

प्रतिक्रिया