राजनीति


गृहमन्त्रीलाई प्रश्न : तपाईंलाई नै सुन तस्करीको ‘नाइके’ भनिरहेका छन् नि?

गृहमन्त्रीलाई प्रश्न : तपाईंलाई नै सुन तस्करीको ‘नाइके’ भनिरहेका छन् नि?

नेपालखबर
साउन ५, २०८० शुक्रबार १४:१६, काठमाडौँ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको १०० सय केजी अवैध सुन बुधबार समातिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार अनुगनमा निस्किए।

नेपाल प्रहरी प्रमुख वसन्त कुँवार र प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीसहित पुगेका उनले विमानस्थलमै अप्रत्यासित प्रश्नको सामना गर्नुपर्‍यो।

सरकार भ्रष्टाचारविरोधी अभियान चलाएर सुशासनको पक्षमा होमिएको बताउँदै विमानस्थलको भन्सार जाँचापासबारेको कमजोरी पनि हटाएर छाड्ने उनले पत्रकारहरुलाई बताए।

लामो ब्रिफिङ गरेका उनलाई त्यहीक्रममा एकजना पत्रकारले सोधे, ‘गृहमन्त्री नै सुन तस्करीमा संलग्न भएको कुरा आइरहेको छ। तपाईंलाई नै सुन तस्करीको नाइके भनेर समाचार आइरहेका छन् नि?’ 

श्रेष्ठले प्रश्न गर्ने पत्रकारलाई प्रतिप्रश्न गरे, ‘तपाईंले प्रश्न गर्नुपर्ने स्तरको विषय हो यो? यो प्रश्नको उत्तर खोज्ने विषय नै होइन। म चुनौती दिन्छु, भ्रष्टाचारविरोधी र सुशासनको अभियानलाई आमजनताको समर्थन छ। संगठित ढंगबाट यसलाई असफल बनाउने काम भयो भने त्यसबाट हामी विचलित हुने छैनौँ।’ 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको पनि बताए।

‘यो देशको भ्रष्टाचारविरोधी अभियानलाई अघि बढाएर सुशासन स्थापित गर्ने अभियानलाई प्रधानमन्त्रीको नेतृत्वमा व्यवहारिक रुपमा गृह मन्त्रालयले नेतृत्व गरिरहेको छ। यसमा आम जनताको समर्थन छ। संगठित ढंगले कुनै पनि प्रकारबाट यसलाई असफल पार्ने, यसलाई दिग्भ्रमित पार्ने काम भयो भने त्यसबाट हामी बिचलित हुने छैनौँ’, उनले भने, ‘हामी सुशासन स्थापित गर्ने कामलाई दृढतापूर्वक अगाडि बढाउनेछौँ। कसैले नसोचे हुन्छ–यसलाई भ्रम पार्न सकिन्छ। यसलाई विचलित गर्न सकिन्छ भनेर। यो प्रकरणका नाइकेसम्म छानबिन पुग्छ।’ 

प्रारम्भिक दिनमा राजस्व अनुसन्धान विभागले केहीलाई नियन्त्रणमा लिएको उनले बताए। ‘अब अनुसन्धान गर्दै जाँदा यसको जरोसम्म पुग्नु पर्‍यो। यसको सम्पूर्ण नेक्सससम्म पुग्नु पर्‍यो। कारबाहीको दायरामा ल्याउनुपर्छ। अहिलेको घटनाको पुनरावृत्ति हुन नदिन नयाँ योजना बनाएर अघि बढनु पर्छ’, उनले भने, ‘हामीले सुन तस्करीबारे सम्पूर्ण रुपमा पुनरावलोकन गरेर जुन सावधानी र गम्भीरता अपनाउनु पर्थ्यो। त्यसमा कमजोरी भयो। भ्रष्टाचार र अपराधका घटनाबारे अनुसन्धान गर्दा कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन। राज्यले यसरी हेर्दैन। यति बुझे हुन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad