राजनीति


मधेशको पहिलो शक्ति बन्ने लक्ष्यका साथ जनमतले सुरु गर्‍यो संगठन विस्तार अभियान

मधेशको पहिलो शक्ति बन्ने लक्ष्यका साथ जनमतले सुरु गर्‍यो संगठन विस्तार अभियान

सागर न्यौपाने
असार २२, २०८० शुक्रबार १९:३९, काठमाडौँ

स्थानीय, प्रदेश र संघीय चुनावमा सफलता पाएपछि जनमत पार्टीले संगठन र सदस्यता विस्तार अभियानलाई तीव्रता दिएको छ। 

३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहमा जनमतले सप्तरीको २ पालिका जितेको थियो। सो पार्टीले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभामा ६ र प्रदेश सभा चुनावमा १६ सिट जितेको छ। 

तराई क्षेत्रका २२ जिल्लामा एक हप्तादेखि सो अभियान चलिरहेको महासचिव चन्दन सिंहले जानकारी दिए।

कोशीका ३, मधेशका ८, बागमतीको चितवन जिल्ला, लुम्बिनीका ६, गण्डकी १ र सुदुरपश्चिमको २ जिल्लामा संगठन र सदस्यता वितरण भइरहेको हो। 

‘अहिले हामी संगठन र सदस्यता वितरण अभियानमा छौँ,’ सिंहले नेपालखबरसँग भने, ‘सक्रिय र साधारण सदस्य दुई क्याटेगोरी बनाएका छौँ। अनलाइन र खुला रुपमा सदस्य बन्न पाइन्छ।’

मधेश प्रदेशमा पहिलो पार्टी बन्न अभियान थालिएको उनको भनाइ छ।

‘स्थानीय, प्रतिनिधि र प्रदेश सभामा जितेपछि पार्टी सदस्य बन्न चाहने संख्या बढ्न थालेको छ,’ उनले थपे, ‘युवादेखि सबै समुदायका मानिस समेटेका छौँ।’

अभियान भर्खरै सुरु भएकोले कति सदस्य हुन्छन्, अहिले सबै विवरण प्राप्त नभएको उनले बताए।

‘पहिलो चरणमा २२ जिल्लामा केन्द्रित भएका छौँ, दोस्रो चरण यसका आधारमा तय हुन्छ,’ उनले थपे। 

जनमतकी प्रमुख सचेतक अनिता साहले वडादेखि जिल्ला तहसम्म अभियान चलाइएको बताइन्।

‘पार्टी प्रवेश, वडा भेला, संगठन र सदस्यता विस्तार कार्यक्रम भइरहेको छ,’ साहले नेपालखबरसँग भनिन्, ‘पहाडका केही जिल्लामा पनि संगठन बनाउँछौँ।’

गाउँपालिकामा १५ सदस्यीय र महानगर, उपमहानगरपालिकामा ७० सदस्यसम्मको संगठन बनेको उनले जानकारी दिइन्। 

‘चुनावको बेला सहयोग गर्नेदेखि नयाँ मतदातालाई संगठनमा जोड्न खोजेका हौँ,’ उनले थपिन्। 

पाँच वर्षअघि नै पार्टीका रुपमा गतिविधि गरेको जनमतले चुनावमा अप्रत्याशित सफलता पाएको हो। चन्द्रकान्त राउतले स्वतन्त्र मधेश गठबन्धनका रुपमा तराई÷मधेशमा गतिविधि गरिरहेका थिए।

त्यसबेला मधेशमा जनमत संग्रह हुनुपर्ने माग समेत अघि सारेर आन्दोलन गरिरहेका डा.राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच २४ फागुन २०७५ मा ११ बुँदे सहमति भएको थियो।

त्यसपछि सिरहाको लहानमा बसेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक (केन्द्रीय भेला)मा नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अघि बढ्न ४ चैत २०७५ मा ‘जनमत पार्टी’ गठन गर्ने निर्णय गरेको हो। 

त्यसबेला ३५ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको थियो। पार्टी घोषणा लगत्तै राउतले चुनावी तयारी गरे।

तीन वर्षको मेहनतपछि उनको पार्टीले तीनै तहमा उपस्थित जनाएको थियो। 

जनमतका सहसंयोजक कैलाश महतोसहित १२ नेताले २६ कात्तिक २०७७ मा पार्टी छोडेका थिए। त्यसयता जनमत पार्टीमा १७ सदस्यीय कार्यकारिणी समिति छ। जसको नेतृत्वमा राउत छन्।

जनमत पार्टीले संघीय संसदमा एक प्रत्यक्ष सहित ५ समानुपातिक सांसद जितेको छ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी २ मा जनमतका अध्यक्ष डा. सीके राउतले भारी मतले हराएका थिए। 

मधेश आन्दोलनबाट उदाएको जसपा र मधेशमा सबैभन्दा लामो समय राजनीति गर्ने लोसपाका नेतालाई चुनौती दिएर जनमत उदाएको हो।

प्रदेश सभामा जनमतले प्रत्यक्षतर्फ मधेश प्रदेशमा ७ प्रत्यक्ष र ९ समानुपातिकसहित १६ सिट जितेको छ।

जनमतले राजनीतिकभन्दा पनि सामाजिक विषय उठाएर चुनावमा भाग लिएको थियो। मधेश र थरूहट आन्दोलनसँगै जन्मिएका क्षेत्रीय दललाई पछि पार्न जनमतले आक्रामक संगठन विस्तार गरिरहेको महासचिव चन्दन सिंहले दाबी गरे। 

‘हाम्रो भिजन युवा र सामाजिक रुपान्तरणमा हो,’ अब मधेशमा पुराना दलको विकल्पसहित पहिलो शक्ति हामी हुन्छौँ,’ उनले भने। 

मंसिरको चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि संगठन विस्तारमा लागिरहेको छ तर, मधेश प्रदेशमा रास्वपा कमजोर छ। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम राखेको जनमत पार्टी सरकारमै सहभागी हुने योजनामा छ।

‘जनताका काम गर्न सरकारमै जानुपर्ने रहेछ,’ अध्यक्ष राउतले नेपालखबरसँग भने, ‘मधेशमा जनताको अवस्था फेर्न थुप्रै काम गर्नुपर्नेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .