ad ad

राजनीति


‘भ्रष्टाचारविरुद्धको अभियान रोक्न प्रधानमन्त्रीको राजीनामा मागियो’

‘भ्रष्टाचारविरुद्धको अभियान रोक्न प्रधानमन्त्रीको राजीनामा मागियो’

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८० बिहिबार १४:८, काठमाडौँ

आफूलाई सरकारमा पठाउन नेपालमा व्यवसाय गर्दै आएका प्रितम सिंह पटक पटक दिल्ली धाएको भनाइलाई लिएर आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बचाउ गरेका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रितम सिंह र उनको परिवारसँग रहेको घनिष्ठ सम्बन्धको व्याख्या गर्दै बचाउमा वक्तव्य निकालेका हुन्। 

उनले संसद्‍बाटै प्रधानमन्त्री निर्वाचित भएकाले त्यहीँ नै जवाफदेही हुने पनि बताएका छन्। गत सोमबार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे संसद्‍मा जवाफ दिनै नपाई राजीनामा मागिनु गलत भएकव पनि उल्लेख गरिएको छ। 

‘सम्मानित संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही हुनुहुन्छ। संसदमा प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशयविपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ’, आचार्यले भनेका छन्, ‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ।’

वक्तव्यमा प्रधानमन्त्रीले १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको पनि जनाइएको छ।

प्रितमसँग जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रचण्डको भेटघाट र चिनजान भएको पनि जनाइएको छ। प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सरबाट संक्रमित भएपछि ०६७/६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उपचार प्रक्रिया अगाडि बढेको जनाउँदै वक्तव्यमा छोरीको उपचारका क्रममा भारतमा आउजाउ हुने गरेको पनि स्वीकारिएको छ। 

त्यस क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका छोरा स्वर्गीय प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको पनि वक्तव्यमा उल्लेख छ। उनीहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको पनि जनाइएको छ।

प्रितमले नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने गरेको दाबी पनि प्रधानमन्त्रीको सचिवालयले गरेको छ। 

‘नेपालका शुभेच्छुक सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आउनु भएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गर्नुभएको प्रष्ट नै छ’, अगाडि भनिएको छ।

त्यहीक्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषय प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गरेको दाबी सचिवालयले गरेको छ। ‘तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् छ’, वक्तव्यमा अगाडि उल्लेख छ।

पुस्तक विमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रुपमा संसद अवरोध गर्दा मिटरब्याजीहरूलाई कारबाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निस्क्रिय भएको दाबी पनि गरिएको छ। 

‘जसबाट मिटरब्याज पीडित लाखौँ नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको छ’, वक्तव्यमा भनिएको छ, ‘यसप्रति हामी गहिरो दुःख व्यक्त गर्दै पीडित किसानहरूको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गर्दछौँ।’

प्रधानमन्त्रीको सचिवालयले एमालेको कदमलाई संकुचित राजनीतिक मानसिकताका साथ आएको भनेको छ। ‘प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यसमेत हामीले हेक्का राख्नुपर्दछ’, अगाडि भनिएको छ, ‘तसर्थ, यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न हामी सम्पूर्णमा हार्दिक अपील गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .