ad ad

राजनीति


के पुटिनले मिसुस्तिनलाई आफ्नो उत्तराधिकारी छानेका हुन्?

के पुटिनले मिसुस्तिनलाई आफ्नो उत्तराधिकारी छानेका हुन्?

नेपालखबर
माघ २, २०७६ बिहिबार १२:२,

आफू राष्ट्रपति बन्दा कार्यकारी राष्ट्रपति र प्रधानमन्त्री बन्दा कार्यकारी प्रधानमन्त्री बनेर दुई दशक रुसको शासन चलाएका भ्लादिमिर पुटिनले अन्ततः २०२४ पछि शक्ति हस्तान्तरण गर्ने संकेत दिएका छन्।

बुधबार वार्षिक स्टेट अफ द नेसन सम्बोधनमा पुटिनले आफ्नो अन्तिम कार्यकालपछि संविधानमा परिवर्तन गर्न आह्वान गरे। उनको सम्बोधन लगत्तै लामो समय पुटिनसँग मिलेर सत्ता सञ्चालन गरेका प्रधानमन्त्री दिमित्री मेद्वेदेवले राजीनामा दिए।

पुटिनले संघीय कर प्रशासन प्रमुख मिखाइल मिसुस्तिनलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। मिसुस्तिनलाई उनले आफ्नो उत्तराधिकारीका रुपमा छनोट गरेको हुनसक्ने केहीको अनुमान छ।

मिसुस्तिनलाई रुसको सबैभन्दा प्रभावशाली ‘टेक्नोक्र्याट’ मध्ये एक मानिन्छ। उनले सन् २०१० मा कर प्रशासन सम्हालेयता धेरै सुधार गरेका थिए।

पुटिनले सन् २०२४ पछि आफू राष्ट्रपति नहुने संकेत त स्पष्टसँग दिइसकेका छन्।

यद्यपि कतिपयले यसलाई जीवनभर शक्तिमा रहने उनको चालका रुपमा अर्थ्याएका छन्।

उनी शक्तिबाट टाढा रहन रुचाउने व्यक्ति होइनन्। त्यसैले उनको आगामी कदम के हुने भन्नेबारे विभिन्न अनुमान भइरहेका छन्।

दुई दशकसम्म पुटिनलाई रुसमा चुनौती दिने कोही थिएन। तर, रुसको संविधानले दुई कार्यकालभन्दा बढी लगातार राष्ट्रपति बन्न दिँदैन। त्यसैले उनले आफूअनुकूल संविधान संशोधन गरेर शासन चलाउँदै आएका थिए।

उनले संविधानमा परिवर्तन गरेर राष्ट्रपतिका केही अधिकार कटौती गर्ने र संसद् तथा प्रधानमन्त्रीको अधिकार बढाउने प्रस्ताव गरेका छन्। उदाहरणका लागि भविष्यको प्रधानमन्त्रीले क्याबिनेटमा नियुक्त गरेका व्यक्तिलाई राष्ट्रपतिले स्वीकार्नुपर्ने छ।

अब पुटिनले के पद धारण गर्लान्, त्यो स्पष्ट छैन।

बुधबार पुटिनले हाल सल्लाहकार समितिको हैसियतमा रहेको स्टेट काउन्सिललाई संवैधानिक अंग बनाउने प्रस्ताव राखे। त्यसैले कतिपयले लामो समय कजाकस्तानमा राष्ट्रपति रहेका नुरसुल्तान नजरबायबकै पदचाप पुटिनले पछ्याउने अनुमान गरेका छन्। सन् २०१८ मा सुरक्षा परिषद्को शक्ति बढाएर नजरबायवले जीवनभर त्यसको अध्यक्ष हुने घोषणा गरेका थिए। यदि त्यसो भएमा राष्ट्रपति पद त्यागेपनि पुटिनले स्टेट काउन्सिलमार्फत सेना र विदेशनीतिमा आफ्नो शक्ति कायम राख्ने विश्लेषकहरुको भनाइ छ।

सन् २००० देखि २००८ सम्म पुटिन दुई कार्यकाल कार्यकारी राष्ट्रपति रहे। त्यसपछि उनी प्रधानमन्त्री बने। सन् २०१२ बाट उनी पुनः राष्ट्रपति बनेका थिए। राष्ट्रपति बनेलगत्तै रुसको अर्थतन्त्रमा व्यापक सुधार गरेर पुटिन लोकप्रिय भएका थिए। तर, तेलको मूल्य घट्ने र पश्चिमा मुलुकहरुले नाकाबन्दी लगाउने सँगसँगै भएपछि रुसी अर्थतन्त्र धरापमा परेको थियो।

तर, सैन्य हिसाबले पुटिनले अमेरिका नेतृत्वको विश्व राजनीतिलाई नै चुनौती दिएका थिए। युक्रेनबाट उनले क्रिमियालाई टुक्र्याएको घटनामा विश्वमा उनको चर्को आलोचना भएपनि रुसमा भने त्यसले प्रशंसा बटुलेको थियो। सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनले ट्रम्पलाई जिताउन भूमिका निर्वाह गरेको आरोप पनि रुसमाथि लाग्ने गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .