राजनीति


विपदबाट क्षति कम गर्न पूर्वतयारीमा ध्यान दिऔं: मुख्यमन्त्री पोखरेल

विपदबाट क्षति कम गर्न पूर्वतयारीमा ध्यान दिऔं: मुख्यमन्त्री पोखरेल

प्रकाश न्यौपाने
माघ २, २०७६ बिहिबार ९:३३,

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जुनसुकै विपद्बाट जोगिन पूर्वतयारी जरुरी रहेको बताएका छन्। बिहीबार राष्ट्रिय भूकम्प दिवसको अवसरमा शुभकामना दिँदै मुख्मन्त्री पोखरेलले भनेका छन्, ‘भूकम्पसहित कुनै पनि खालको विपदबाट क्षति न्यूनीकरण गर्न पूर्वतयारीमा विशेष ध्यान दिन आवश्यक छ। भूकम्प प्रतिरोधी घर निर्माणलाई पूर्णरुपमा कार्यान्वयन गर्ने, अन्य पूर्वाधार निर्माण पनि भूकम्प प्रतिरोधी बनाउन जोड दिनुपर्छ।’

उनले सरकारले विपद् जोखिम न्यूनीकरणका लागि बनाएका नीति, ऐन र कार्ययोजनालाई कार्यान्वयन गर्न नागरिक जागरुक हुनुपर्ने समेत जनाएका छन् । ‘विपद जोखिम न्यूनीकरणका लागि बनेका नीति, ऐन र कार्ययोजनालाई बाध्यात्मक रुपमा नबुझेर नागरिकको हितका लागि भन्ने बुझाई हुनुपर्छ। यसले विपद् रोक्न सहयोग पुग्छ’, मुख्यमन्त्री पोखरेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

आज बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस हो। भूकम्पको उच्च जोखिममा रहेको नेपालमा भूकम्पसहित प्राकृतिक विपदले हुनसक्ने क्षतिबाट जोगिन भूकम्प सुरक्षा दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने उनले कामना गरेका छन्। ‘नेपालले २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट ठूलो जनधनको क्षति ब्यहोर्याे। त्यसअघि वि.सं १९९० सालमा गएको भूकम्पबाट पनि हामीले क्षति व्यहोर्न बाध्य भयौं। विगतमा पुगेको क्षति र त्यसपछिको पुनःनिर्माणका अनुभवबाट भूकम्पबाट हुने जोखिम न्यूनीकरणको दिशामा सरकार अघि बढिरहेको छ। राज्य संरचनाका अंगहरुमा मात्रै विपद व्यवस्थापनको काम अघि बढाएर हुँदैन्। विपद् व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाउन सिंगो समाज तयार हुनुपर्छ’, मुख्यमन्त्रीले भनेका छन्।

२०७२ सालको भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा सरकार अग्रसर रहेको उनले जनाएका छन् । भूकम्प प्रभावित क्षेत्र मात्रै नभएर सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्पबाट अधिकतम रुपमा सुरक्षित बनाउन केन्द्रीय तहमा मात्रै नभएर प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक संरचना र योजना तर्जुमा गरी कार्यान्वयन भइरहेको मुख्यमन्त्रीले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले भूकम्प प्रतिरोधी संरचना बनाउने अभियानमा सबैले सहयोग गर्न आग्रह गर्दै भनेका छन्, ‘भूकम्पको जोखिम न्यूनीकरण अभियानमा सबै मिलेर अघि बढौं, यही अपील गर्दछु।’ यसपटक राष्ट्रिय भूकम्प दिवसको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार’ भन्ने तय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad