बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाउँदै राउतले फेसबुक लाइभमा प्रहरीविरुद्ध टिप्पणी गरेकी थिइन्।
भद्रपुरमा ओर्लिनासाथ उनले गाडीबाटै फेसबुक लाइभमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी थिइन्।
एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेर दुव्र्यवहार गरेको आस्थाको आरोप रहेको छ। तर प्रहरीलाई अपशब्द गरेको भनेर आस्थाको आलोचना हुन थालेपछि आस्थाले माफी मागेकी छिन्।

उनले फेसबुकमा रिसको आवेगमा आएर त्यसो भनेकोमा क्षमायाचना गरेकी छिन्। उनले फेसबुकमा भनेकी छिन्,‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो। नचाहिँदो शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु। प्रशासनको व्यस्त कामहरुलाई म सँधै आदर गर्छु। तर सर्वसाधारणहरुसँग बोल्दा तुक्ष व्यवहार नगरियोस्। तँ तँ र म म गर्न बन्द गरियो। नैतिक शिक्षाको कमी नरहोस्। सम्मान दिनुपर्छ सम्मान लिनुपर्छ।’
उता नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले आस्था राउतको भिडियो आफूले पनि हेरेको र त्यसलाई छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताएका छन्।

प्रतिक्रिया