राजनीति


उपसभामुख राना र चिनियाँ प्रतिनिधि मण्डलबीच भेट

उपसभामुख राना र चिनियाँ प्रतिनिधि मण्डलबीच भेट

नेपालखबर
असार १२, २०८० मंगलबार १६:३३, काठमाडौँ

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलसँग शिष्टाचार भेट वार्ता गरेकी छिन्।

चीनको तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसका स्थायी समिति उपनिर्देशक तथा जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईको नेतृत्वमा आएको चिनियाँ संसदीय प्रतिनिधि मण्डलसँग आज (मंगलबार) सिंहदरबारमा उपसभामुख रानाले भेटवार्ता गरेकी हुन्।

भेटमा उपसभामुख रानाले नेपाल चीन सम्बन्ध निकै पुरानो र घनिष्ट भएको चर्चा गर्दै दुई पक्षीय भेटवार्ता र भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने फलफूल, जडिबुटी लगायत कृषि उत्पादनहरु अर्गानिक र उत्कृष्ट हुने भन्दै उपसभामुख रानाले नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म बिस्तार गर्न सके दुवै देशलाई फाइदा हुने बताइन्।

‘नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने फलफूलहरु विशेष गरी ओखर निकै राम्रो र स्वादिलो हुन्छ,’ रानाले भनिन्, ‘नेपालमा उत्पादन हुने फलफूल, जडिबुटीहरु चिनियाँ बजारसम्म विस्तार गर्न सके चीनका नागरिकले हिमाली क्षेत्रको उत्पादनको स्वाद पाउनु हुन्थ्यो ।’  

भौगोलिक विकटता र पर्याप्त सडक मार्गको विकास नहुँदा छिमेकी देश चीनसँग सीमित मात्रामा नाकाहरु रहेको भन्दै उपसभामुख रानाले भएका नाकाहरु पनि बेला बेलामा बन्द हुने गरेकाले समस्या हुने गरेको बताइन्। नेपालमा बनाइएको कार्पेट चीनमा निर्यात हुने गरेको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै उपसभामुख रानाले कतिपय कार्पेट जेलमा रहेका कैदी बन्दीहरुले समेत बनाउने गरेको उल्लेख गरिन्। 

आफू राजनीतिमा आउनुअघि सामाजिक संस्थामार्फत् समाजसेवा गरेको चर्चा गर्दै उपसभामुख रानाले राजनीतिमा आएपछि आफूलाई नयाँ अनुभूति भएको बताइन्।

सो अवसरमा संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेका तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै निकै घनिष्ट रहेको बताए। तिब्बत स्वायत्त क्षेत्रको प्रान्तीय टोलीको नेतृत्व गर्दै आफू पहिलोपटक नेपाल आएको उल्लेख गर्दै जियाङले तिब्बतले नेपालसँगको सम्बन्धलाई सधैं विशेष प्राथमिकता दिने पनि बताए।

‘चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धको नयाँ अध्याय शुरु भएको छ,’ जियाङले भने, ‘नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको हामी प्रशंसा गर्छौं।’

भूकम्प र कोरोना महामारीका कारण नेपाल–चीन सिमा नाकाहरुमा केही समस्या आएको चर्चा गर्दै जियाङले पछिल्लो समय सबै नाकाहरु खुल्दै गएको र सामान आयात निर्यातमा हुने कठिनाइ हट्दै गएको बताए।

भेटवार्तामा चिनियाँ प्रतिनिधि मण्डलका साथै नेपालका लागि चीनका राजदूत छन् सोङ पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad