ad ad

राजनीति


बालुवाटारको बार्दलीमा प्रचण्ड-विप्लव वार्ता : फुटेका माओवादी धार आउलान् एकै ठाउँ?

बालुवाटारको बार्दलीमा प्रचण्ड-विप्लव वार्ता : फुटेका माओवादी धार आउलान् एकै ठाउँ?

बालुवाटारको बार्दलीमा दुई नेताको वार्ता। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार ७, २०८० बिहिबार १२:१५, काठमाडौँ

 नेत्रविक्रम चन्द विप्लव कुनै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिन्थे। जनयुद्धदेखि शान्ति प्रक्रियामा आउँदा पनि उनी प्रचण्डका भित्रिया नेतामध्ये एक थिए।

तर तत्कालीन माओवादी लडाकु समायोजन प्रक्रियामा प्रचण्डसँग असन्तुष्टि जनाएका उनी २०६९ सालमा प्रचण्डलाई छाडेर नयाँ यात्रामा निस्किए। 

सेना समायोजनसहितका काममा प्रचण्डको विरोध गरेका उनले एउटा पुस्तक नै लेखेर प्रचण्ड र तत्कालीन नेता डा. बाबुराम भट्टराईको चर्को आलोचना गरे। 

उनले २०६९ सालमा ‘महापतन’ पुस्तक लेखेर ‘प्रचण्ड र बाबुरामले जनमुक्ति सेना सिद्धायाएको’ सार्वजनिक आरोप लगाए। 

त्यसपछि विप्लव जनयुद्धले अघि बढाएको क्रान्तिको कार्यभार बाँकी नै रहेको भन्दै असन्तुष्टि पोखिरहेका मोहन वैद्य 'किरण'सँगको सहयात्रामा निस्किए। 

२०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी–माओवादी बनाएपछि रामबहादुर थापा 'बादल', सीपी गजुरेल र विप्लव पनि त्यतै लागे। 

प्रचण्ड नेतृत्वको माओवादी छाडेका विप्लवले मोहन वैद्यसँगको सहयात्रालाई पनि लामो बनाउन सकेनन्।

त्यसपछि विप्लवले जनयुद्धको बाँकी कार्यभार पूरा गर्न एकीकृत जनक्रान्ति थाल्ने उद्घोषसहित २०७१ मंसिरमा खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहितको साथ लिएर नयाँ पार्टी बनाए। 

आफ्नो नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी बनाएपछि २०७४ साल निर्वाचन बहिष्कार गरेका विप्लवले त्यहीबेला बम विस्फोटसहितका गतिविधि थाले। जनयुद्धकै शैलीमा हिंसात्मक गतिविधि र चन्दा आतंक मच्चाएपछि सरकार सतर्क भएको थियो। 

विप्लव नेतृत्वको नेकपाले त्यसपछि ७० करोड घुसमा प्रकरणसम्बन्धी अडिओ बाहिरिएपछि नेकपा एमालेका पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम पड्कायो। यहीबीचमा विप्लवका कार्यकर्ताले करको विवादमा देशभर एनसेलका टावर र कार्यालयमा बम पड्कायो।

देशका अन्य भागमा बम आक्रमण हुँदा सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन। तर ललितपुरको नख्खुमा रहेको एनसेलको कार्यालय लक्षित बम आक्रमणबाट सर्वसाधारण पनि मारिएपछि सरकारले कारबाही थालेको थियो। 

२०७५ फागुन ११ गते भएको उक्त घटनामा सिंगापुरका लाहुरे लमजुङ निवासी सिंहप्रताप गुरुङले ज्यान नै गुमाए। त्यसपछि विप्लवका कार्यकर्ताले २०७५ फागुन २४ गते वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौंस्थित घरमा सिलिन्डर बम पड्काए।

त्यसपछि सरकारले विप्लवका कार्यकर्तामाथि धरपकड बढायो। ठाउँ ठाउँबाट सयौँ नेता कार्यकर्ता समातिए। सरकारी धरपकडविरुद्ध विप्लवल २०७५ जेठ १४ गते नेपाल बन्द गरे। बन्द सफल गराउन जेठ १३ गते साँझ काठमाडौंका दुई ठाउँमा हिंसात्मक घटना भए। 

काठमाडौंको अनामनगर र बसुन्धारामा भएका बम विष्फोटमा विप्लवकै नेता कार्यकर्ता मारिए। त्यसबेला गोकुल राना मगर,  दिपेश विक, प्रज्वल शाही र निरन्तर मल्लको ज्यान गयो। 

हिंसात्मक घटनापछि विप्लव नेतृत्वको नेकपाका लागि चन्द संकलन गरिरहेका उक्त पार्टीका प्रवक्तासमेत रहेका नेता प्रकाण्डलाई प्रहरीले २०७५ साउन २३ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गर्‍यो। 

त्यसबेला प्रकाण्डले बोकेको डायरीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कारबाही चलाउने भेटिएपछि सरकार आक्रोशित भयो। 

त्यही तनावबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपालाई २०७५ फागुन २८ गते प्रतिबन्धित समूहका रुपमा घोषणा गर्‍यो।

यो प्रतिबन्धका क्रममा विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला, माइला लामा, हेमन्त प्रकाश वली र उमा भुजेलसहित सयौँ नेता कार्यकर्ता पक्राउ परे।

सरकारसँगको तनावबीच एकीकृत जनक्रान्ति थालेका विप्लवले आफ्ना १७ जना करिब १७ जना कार्यकर्ता गुमाए। उनीहरुले मोरङसहितका स्थानमा सर्वसाधारणको ज्यान समेत लिए। 

तर सरकारले एकपछि अर्को कारबाहीबाट क्षति पुर्‍याउँदै लगेपछि विप्लवलाई प्रबिन्ध लगाएका केपी ओलीले नै खुला राजनीतिमा अवतरण गराए। 

२० फागुन २०७७ मा सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर गर्दै यो समूह खुला राजनीतिमा आयो। त्यसबेला विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, पक्राउ परेका बन्दी छाड्ने र मुद्दा खारेज गर्ने सहमति भएको थियो।

खुला राजनीतिमा आएपछि विप्लवले शक्ति आर्जन गर्न सकेनन्। झन् झन् खिइँदै जाने अवस्था आयो। यहीबीचमा धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीसहित विप्लवबाट छुट्टिएर नयाँ पार्टी खोले।

शान्तिपूर्ण राजनीतिमा आउँदा पनि प्रभाव बढाउन नसकेका विप्लवका लागि ४ असारमा घोषणा भएको समाजवादी मोर्चा रेस्क्युको विकल्प बन्न पुगेको छ।

प्रचण्डले भने जस्तै एमालेसँग हतारमा एकता गरेर पछुताउने अवस्था आएकाले अहिले बनाइएको मोर्चा टिक्ने बलिया आधार देखिएका छैनन्। तर विप्लवका लागि फेरि माओवादीको मूलधारमा फर्किने बाटो भने मोर्चाले खोलिदिएको छ।

त्यही मोर्चाको भरमा माओवादी नेतृत्वमा पुग्ने प्रयासमा रहेका विप्लवले बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग करिब एक घण्टा एक्ला एक्लै वार्ता गरेका छन्। 

बालुवाटारको बार्दलीमा उस्तै कोट लगाएर वार्तामा बसेका दुई नेता प्रफुल्ल देखिन्थे। जहाँ हिजोको माओवादी धारलाई एकै ठाउँमा ल्याउन लामो संवाद भएको दाबी प्रचण्डको सचिवालयले गरेको छ।

प्रचण्ड र विप्लवबीच माओवादीका सबै धारलाई एक ठाउँ ल्याउनेबारे कुरा भए पनि त्यो त्यति सजिलो भने छैन। 

प्रधानमन्त्री प्रचण्ड र विप्लवको भेटमा समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएको स्रोतले जनाएको छ।

‘दुई नेताबीचको सहमतिअनुसार साझा जनमुखी कार्यक्रम अघि बढाइने छ। माओवादी आन्दोलनमा जोडिएका धारहरुलाई एकीकृत गर्ने कुरा पनि भएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘दुई नेताबीच सबै माओवादी धारलाई एकता गर्नुपर्छ भन्ने छ।’

दुवै नेताले अब फुटेर कहीँ नपुगिने निष्कर्ष पनि निकालेका छन्। ‘अब फुटेर हुँदैन, माओवादी धार गोलबन्द हुनुपर्छ’, सचिवालयका ती सदस्यले भने, ‘यही विषयमा विचार विमर्श भयो। सायद यसको पहलकदमी दुवै नेताले लिने समझदारी पनि बनेको छ।’

उनीहरुले वार्तामा माओवादी आन्दोलन एकीकृत गरेर अघि बढाउनेबारे पनि कुरा गरेका छन्। ‘बाहिर रहेका शक्तिहरुलाई पनि एकै ठाउँ ल्याउँछौँ’, दुवैको साझा प्रतिबद्धता सुनाउँदै सचिवालयका ती सदस्यले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .