राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले माथिल्लो कर्णाली परियोजनामा जनताकै लगानीमा बन्नुपर्ने दोहोर्याएका छन् ।
मंगलबार राजधानीमा आायोजित ‘माथिल्लो कर्णाली जीएमआरलाई दिने सम्झौता खारेजी सम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कर्णाली जस्तो सस्तो र सुलभ योजना विदेशीको स्वार्थमा प्रयोग गर्न दिन नहुने बताए। ‘विदेशीले पैसा दिन्छन् भनेर एमसीसीका घातक सर्त स्वीकार गर्न तयार हुने तर माथिल्लो कर्णाली जस्तो सस्तो र सुलभ आयोजना विदेशीलाई सुम्पने?’ केसीले प्रश्न गरे।
उनले देशलाई संकट पर्दा जनता भने स्वस्थानीका कथामा भुलेको बताए। ‘राष्ट्रलाई यतिधेरै संकट परेको बेलामा गाउँ तथा शहर बजारमा यतिबेला स्वस्थानीको छलफल चल्छन्, स्वस्थानी ब्रतकथामा मान्छेको जमघट छ।’ उनले भने, ‘यही स्थिती हो भने अहिले हामीले कालापानी भारतले पानी ओगट्यो भनिरहेका छौं। कोशी, गण्डकी, कर्णाली महाकालीको कुरा गरिरहेका छौं। ढिलो चाँडो नेपालको सम्पूर्ण भू–भाग नै कब्जा गर्ने योजना अनुसार उनीहरु चलिरहेका छन्।’
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य भीम रावलले कर्णाली चिसापानीमा १० हजार ८ सय मेगावाट विद्युत् निकाल्न सकिन्छ भन्ने परिकल्पना गरिएको बताउँदै त्यसलाई कहिल्यै बन्न नदिने गरी माथिल्लो कर्णालीको प्रशारण लाइन चिसापानीमाथिबाट लाने प्रस्ताव गरिएको बताए। आयोजना ३५० मेगावाटबाट रातारात कुनै टेण्डर नगरी गैरकानुनी किसीमले ९०० मेगावाट पुर्याइको उनको आरोप छ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा (क्रान्तिकारी माओवादी)का वरीष्ठ नेता सीपी गजुरेल, माओवादी केन्द्रका संयोजक गोपाल किराँतीलगायतका नेताहरुले भारतले मिचेका नेपालको सीमा फिर्ता गर्न जनताले चौतर्फी दबाब दिए पनि सरकारले कुनै पहल नगरेको भन्दै आपत्ति प्रकट गरेका थिए ।
कार्यक्रम नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, पुष्पलाल अध्ययन समाज काठमाडौँ, राष्ट्रिय जागरण परिषद् नेपाल, पुष्पलाल मित्रता मञ्च, समृद्ध नेपाल राष्ट्रिय अभियान,राष्ट्रिय पुनर्जागरण अभियान, राष्ट्रिय जागरण मञ्च र पृथ्वी विचार अभियानसहित १४ संस्था मिलेर आयोजना गरिएको थियो।

प्रतिक्रिया