ad ad

राजनीति


माओवादीसहितको समाजवादी मोर्चा असार ५ गते घोषणा गर्ने निर्णय

माओवादीसहितको समाजवादी मोर्चा असार ५ गते घोषणा गर्ने निर्णय

नेपालखबर
असार ३, २०८० आइतबार ११:१३, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दल मिलेर यही असार ५ गते समाजवादी मोर्चा घोषणा गरिने भएको छ।

आज बिहान बालुवाटारमा भएको चार दलका शीर्ष नेताबीचको छलफलले मोर्चा घोषणाको मिति तय गरेको हो।  

‘असार ५ गते समाजवादी मोर्चा घोषणा गर्ने तय भयो’, माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले नेपालखबरसँग भने।

 आज बिहान बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएका थिए। 

समाजवादी मोर्चामा डा‍‍. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको संयोजकत्वमा रहेको राष्ट्रिय एकता अभियानसमेत ६ दल समेट्ने तयारी रहे पनि आजको छलफलमा भने बाबुराम र वामदेव सहभागी भएनन्।  

तर यसअघि स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी ६ दलको संयुक्त मोर्चा घोषणा गर्ने बताइएको छ। प्रगतिशील र समाजवादी शक्तिहरुको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ।

मोर्चाको १५ बुँदे नीतिगत प्रतिबद्धतामा दलहरु सहमत भएपछि यसको घोषणा गर्न लागिएको हो। माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिस्ट पार्टी मोर्चा बनाउन तयार भइसकेका छन्। 

वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान नेपाललाई समेत मोर्चामा समेट्ने प्रयास भइरहेको छ। 

यस्तो छ समाजवादी मोर्चा नेपालको प्रस्तावित संरचना 
नेताहरुका अनुसार मस्यौदामा समाजवादी मोर्चा नेपाललाई अंग्रेजीमा ‘सोसलिस्ट फ्रन्ट नेपाल’ भनिएको छ।

आलोपालो अध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ। तोकिएको व्यक्ति र तोकिएको संख्या रहने उल्लेख गरिएको छ। दलहरुका सदस्यताका आधारमा सो संख्या राखिएको छ। ७५३ वटै स्थानीय तहसम्म पुग्नेगरी मोर्चाको संयन्त्र बनाइएको छ। 

‘यही मस्यौदालाई दलहरुले दिएको फिडब्याक समेटेर निर्णयार्थ पेस गरिनेछ,’ जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भनेका छन्, ‘प्रदेश र स्थानीय तहसम्मको संयन्त्र लगायतका अरु थुप्रै काम पछि गर्दै जान्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .