ad ad

राजनीति


विनियोजन शीर्षकमाथिको छलफलमा खेलकुदमन्त्री उपस्थित नभएपछि...

विनियोजन शीर्षकमाथिको छलफलमा खेलकुदमन्त्री उपस्थित नभएपछि...

नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापा (फाइल तस्बिर)


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १५:३४, काठमाडौँ

प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू उपस्थित नभएपछि विनियोजन विधेयक, २०८० अन्तर्गत उक्त मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल हटाइएको छ। 

बिहीबारको बैठकमा युवा तथा खेलकुद, वन तथा वातावरण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो।

मन्त्रालयगत छलफल प्रारम्भ भएको करिब डेढ घन्टापछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले मन्त्री उपस्थित नभएसम्म छलफल अगाडि बढ्न नसक्ने भन्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त मन्त्रालयसँग सम्बन्धित विषयलाई कार्यसूचीबाट हटाइएको जानकारी गराए।

यसअघि शहरी विकास मन्त्रालयसँग सम्बन्धित पुस्तिका प्राप्त हुन नसेकपछि आजको बैठकमा तय भएको उक्त मन्त्रालयमाथिको छलफलको कार्यसूची पनि हटाइएको थियो। 

बैठक सञ्चालनका क्रममा उपसभामुख इन्दिरा रानाले युवा तथा खेलकुदमन्त्री लिम्बू विदेशमा रहेको र मन्त्रालयको कार्यभार सम्हालेका अर्का मन्त्रीलाई बैठकमा उपस्थित हुन खबर गरिएको बताएकी थिइन्। 

उनले उक्त मन्त्रालयको सचिवसहितको टोली छलफलमा उठेका विषयको टिपोटका लागि उपस्थित भएको पनि जानकारी गराएकी थिइन्।

सांसद थापाले मन्त्री विदेशमा भए, स्वदेश फर्केपछि सम्बन्धित मन्त्रालयका बारेमा छलफल गर्न सकिने भन्दै उक्त मन्त्रालयसँगको छलफललाई आजको कार्यसूचीबाट हटाउन माग गरे। 

मन्त्री उपस्थित नभएको तथा मन्त्रालयका सचिव बैठकमा बस्नुभएको भन्ने उपसभामुखको रुलिङलाई मान्न नसकिने जनाउँदै उनले उक्त मन्त्रालयको छलफल अर्को दिन राख्न माग गरे। 

‘सचिवज्यू देख्दैनौँ यहाँ, यदि युवा तथा खेलकुदमन्त्री हुनुहुन्न भने यो विषयलाई आजको कार्यसूचीबाट हटाइयोस् र उहाँ स्वदेश फर्केपछि छलफलमा राखियोस्’, उनले भने, ‘मन्त्री बेगरको छलफल नगरियोस्।’

बैठकमा वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य भने उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .