राजनीति


बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भएको बुझेँ, जवाफ माग्छौँ- माधव नेपाल

बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भएको बुझेँ, जवाफ माग्छौँ- माधव नेपाल

नेपालखबर
जेठ २४, २०८० बुधबार १४:३९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन्। 

बुधबार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। उनले बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्ने बारेमा त्यसको आधार खोज्ने बताए। 

उनले आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने पनि बताए। 

‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेल्धुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ। नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ,’ अध्यक्ष नेपालले भने, ‘यो सुन्नमा आयो, त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ।’

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको उनले बताए। 

सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरुसँग बुझ्ने पनि उनले सञ्चारकर्मीलाई बताए। 

‘प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो। त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो की होइन, यसबारेमा सबैकुरा बुझ्न बाँकी छ,’ नेपालले भने, ‘पार्टीका नेता र सत्तामा रहेका नेताहरूसँग भेटेर कुरा गर्नेछु।’

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरुले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न शहरमा पुगेर प्रवासी नेपालीहरूसँग भेट गरेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad