प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले कुनै पनि दलको छायाँ नबनी सदनको प्रक्रिया अगाडि बढाउन उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई आग्रह गरेका छन्।
सभामुखका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्णय गर्न नसक्दा तेस्रोपटक संसद बैठक सूचना टाँसेर स्थगित गरेपछि नेता थापाले सदनको प्रक्रिया अगाडि बढाउन उपसभामुखलाइृ आग्रह गरेका हुन्।
उनले नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय भएको बताउँदै यो संसदीय अभ्यास, गरिमामात्र नभई संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत विरोधमा रहेको बताएका छन्।
‘नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय छ। यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ’, आइतबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्।
उनले उपसभामुखलाई सम्बोधन गर्दै संसद कुनै दलको छायाँ नभएको बताउँदै संसदको कामकारबाही अगाडि बढाउन समेत आग्रह गरेका छन्। ‘उपसभामुखज्यू, संसद कुनै दलको छायाँ होइन, तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रकृया अगाडि बढाइयोस्’, उनले थपेका छन्।
नेकपाभित्रको स्वार्थको वेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय छ।यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रवन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ। उपसभामुखज्यू,संसद कुनै दलको छायाँ होइन,तपाईं संसदको उपसभामुख हो,नियमानुसार सदनको प्रकृया अगाडी बढाइयोस्।
— Gagan Thapa (@thapagk) January 12, 2020संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको छ।
रिक्त सभामुखमा नेकपाभित्र तीन समूह आकांक्षी छन्। पूर्वमाओवादी समूहले तत्कालीन एमाले र माओवादीबीचको भागबण्डामा सभामुख आफ्नो भागमा परेको र अहिले पनि आफूले नै सभामुख सिफारिस गर्न पाउनुपर्ने अडान राखेको छ भने पूर्वएमाले पक्षबाट प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने पूर्वएमाले समूहबाटै उपसभामुख बनेकी शिवामाया तुम्बाहाङ्फेले पनि सभामुखका दावी प्रस्तुत गर्दै आइरहेकी छन्।
सभामुखको प्रक्रिया अगाडि बढाउन नेकपा सचिवालय बैठकले उपसभामुख शिवमायालाई राजीनामा दिन लगाउने निर्णय गरे पनि उनले भने पार्टी निर्णय अस्वीकार गरेकी छन्। संविधानमा सभामुख र उपसभामुख भिन्दाभिन्दै दलबाट हुने व्यवस्था भएका कारण उपसभामुखको राजीनामा नआएसम्म प्रक्रिया अगाडि बढाउन नेकपालाई अफ्ठ्यारो परेको छ।
नेकपाले सभामुखको टुंगो नलगाउँदा यसअधि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। आइतबार दिउँसो १ बजे बोलाइएको बैठक पनि माघ ६ गते बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको छ।
Shares

प्रतिक्रिया