कारोबार


चीनसँग भएको पारवहन सम्झौता कार्यान्वयनमा

चीनसँग भएको पारवहन सम्झौता कार्यान्वयनमा

नेपालखबर
पुस २७, २०७६ आइतबार ९:२७,

नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ। सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्ने छ।

पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले दिएको जानकारी अनुसार चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चार सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्न सक्नेछ। त्यसैगरी तीन सुख्खा बन्दरगाहहरु लन्झाउ, ल्हासा र सिगात्सेपनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ। यहि जनवरी १ बाट पारबहन सम्झौता कार्यान्वयनमा आएको हो।

चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति पनि भएको छ। रसुवा र तातोपानी (कोदारी) नाका यसअघि नै सञ्चालनमा आइसकेका छन् भने हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्नेछ।

भारतसँग भएको पारबाहन सम्बन्धी सन्धि पनि तत्कालका लागि नविकरण भएको छ। सचिव अर्यालले सन्धिमा आवश्यक नयाँ कुरा थप गरेर पुनः सन्धि गर्ने तयारी मन्त्रालयले पुरा गरेको बताए। नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर आयात निर्यात गर्न सक्नेछ। त्यसैगरी नेपाली ध्वजाबाहक पानी जहाज भारतीय आन्तरिक जलमार्गमा सञ्चालन गर्न पनि बाटो खुल्नेछ।

सचिव अर्यालका अनुसार भारतको जलमार्गमा रहेका आन्तरिक तीनवटा टर्मिनलहरु साहेबगञ्ज, कालुघाट र बाराणसीबाट व्यापारिक वस्तुहरु आयात निर्यात गर्न सकिनेछ भने नेपालको ब्यापार लागत कम हुन्छ। भारतसँगको रेल्वे सम्झौताको म्याद पनि ५ वर्षका लागि थप भएको छ। नेपालले विराटनगर, वीरगञ्जबाट भारतको कोलकत्ता र हल्दियासम्म नेपाली रेल सञ्चालन गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको उनले बताए।

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको व्यापार घाटामा पनि कमि आएको छ। आन्तरिक उत्पादन बढाएर वितरण प्रणालीमा सुधार हुँदा, उपभोग नगर्दा पनि हुने वा जनस्वास्थ्यमा हानी पुर्याउने वस्तुहरुको आयातमा कडाई गरिएपछि ब्यापारघाटा कम भएको उनले बताए। अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ५ महिनामा ६ प्रतिशत भन्दा बढीले ब्यापार घाटा कम भएको छ।

याे पनि:
नेपालले पहुँच पाएका चिनियाँ सामुद्रिक बन्दरगाह कुन कति टाढा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad