प्रदेश ३ को प्रदेशसभाको शनिबार बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश नं ३ को नामकरणसम्बन्धी ‘बागमती’ को प्रस्तावलाई छलफलको लागि प्रस्तुत गरेका छन्।
उक्त प्रस्तावलाई सत्तारुढ नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयाल, साझा विवेकशील पार्टीको रमेश पौडेल र शोभा शाक्य, राप्रपाका रीता माझी र राप्रपा ९संयुक्त०को रीना गुरुङले सर्मथन गरेका थिए।
उक्त प्रस्तावमा नेपाल किसान मजदूर पार्टीका नेता सुरेन्द्रराज गोरसाइले संघीय राजधानी काठमाडौँलाई रक्षाकवजको रुपमा जोड्न प्रदेश नं ३ को राजधानी हेटौँडा तोकिनु औचित्यपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले आगामी वर्षहरूमा प्रदेशका जनतालाई आधारभूत विकासको साथै आर्थिक समृद्धितर्फ जोड्ने कार्यको लागि केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।
उनले प्राचीन सभ्यताको प्रतीकका रुपमा रहेको बागमतीको नामकरणलाई सहमतिका साथ पारित गर्न लागिपर्ने राय दिए। बागमती प्रदेशको नामकरणसम्बन्धी छलफलमा सहभागी हुँदै स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले उक्त प्रस्तावमाथि आफ्नो सर्मथन नरहेको र प्रदेशको अधिकांश जिल्लामा आदिवासी जनताको बहुल्यता रहेको तथ्य औँल्याउँदै उक्त समुदायलाई पनि आत्मसम्मानका साथ समेटिने खालको प्रदेशको नामकरण गर्न सरकारसँग माग गरे।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आइतबार बिहान ९ बजे बस्ने गरी स्थगित गरेका छन्। शनिबार दुई पटक सञ्चालन भएको बैठक करिब तीन घण्टा २० मिनेट चलेको थियो। रासस

प्रतिक्रिया