सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ।
शनिबार अपरान्ह सुरू भएको सचिवालय बैठकमा सभामुख र एमसीसीबारे छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
सभामुखको विषयलाई लिएर पार्टीभित्र ध्रुवीकरण बढीरहेका बेला त्यसबारे निर्णय गर्न सचिवालय बैठक बसेको हो।
सभामुख आफ्नो भागमा रहेको भन्दै नेकपाको पूर्वमाओवादी समूहले सभामुख पाउनुपर्ने दावी गर्दै आएको छ भने प्रधानमन्त्री केपी शर्मा ओली सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा छन्। त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि सभामुखमा दावी नछाडेपछि सभामुख चयनको विषय पेचिलो बन्दै गइरहेको छ।
सभामुख चयन हुन नसक्दा यसअघि पनि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्दै छ। संसद बैठक अगाडि नै सभामुखको टुंगो लगाउन सचिवालय बैठक राखिएको प्रचण्डको सचिवालयका एक सदस्यले नेपालखबरलाई बताए।
त्यस्तै आजको बैठकमा अमेरिकासँग गरिएको एमसीसी सम्झौताबारे पनि छलफल हुने जनाइएको छ।
Shares

प्रतिक्रिया