सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रतिनिधि सभाको रिक्त, सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।
शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपाले सभामुखमा उम्मेदवारी दिने र त्यसका लागि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले उपसभामुखको राजीनामा माग्ने निर्णय भएको जानकारी दिए।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखमा आफ्नो दावी प्रस्तुत गर्दै आएकी छन्।
उनले पार्टीले सहमतिमा औपचारिक निर्णय गरे आफू राजीनामा दिन तयार भएर बसेको समेत बताउँदै आएकी छन्।
शुक्रबार अध्यक्षद्वयसँग भएको छलफलमा पनि उनले सभामुखमा आफ्नो दावी रहेको बताएकी थिइन्।
नेकपा सचिवालयले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुखलाई राजीनामा दिन लगाउने निर्णय गरे पनि पार्टीको औपचारिक उम्मेदवार भने टुंग्याएको छैन।
उपसभामुख तुम्बाहाङ्फेले भने नेकपा सचिवालयको निर्णयको जवाफ आइतबार मात्रै दिने भएकी छन्। उनको सचिवालय यसबारेमा पार्टीको निर्णयको जवाफ उपसभामुखले भोलि मात्रै दिने बताएको छ।

प्रतिक्रिया