ad ad

राजनीति


पक्राउ पर्ने सूचनापछि बालकृष्णले मंगलबारदेखि नै बन्द गरेका थिए मोबाइल

पक्राउ पर्ने सूचनापछि बालकृष्णले मंगलबारदेखि नै बन्द गरेका थिए मोबाइल

कांग्रेस नेता बालकृष्ण खाँण। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १७:२५, काठमाडौँ

सोमबार बुद्ध एयरको जहाजमार्फत रुपन्देहीको तिलोत्तमास्थित घर पुगेर मंगलबार बिहान काठमाडौं फर्किएका थिए बालकृष्ण खाँण।

पीएसओसहित जहाजबाट भैरहवा पुगेका उनी तिलोत्तमास्थित घरमा एक रात बसेका थिए। 

तिलोत्तमास्थित घरमै रहेकी आमालाई भेटेर फर्किएका उनले मंगलबार अपरान्ह प्रहरीले आफूलाई पक्राउ गर्न सक्ने संकेत पाइसकेका थिए।

खाँण गृहमन्त्री हुँदाका गृहसचिव टेकनारायण पाण्डेले प्रहरीलाई दिएको बयानले राजनीतिक वृत्त गर्माइरहेको थियो। हाल सिंहदरबार प्रहरी बृत्तको हिरासतमा रहेका पाण्डेले खाँणकै निर्देशनमा नक्कली शरणार्थीसम्बन्धी फाइल आफूले अघि बढाएको बयान दिएका थिए। 

त्यसअघि नै खाण पत्नी मञ्जुले उक्त प्रकरणमा बिचौलियाबाट साढे ६ करोड रुपैयाँ लिएको दाबीसहितको अडिओ सार्वजनिक भइसकेको थियो।

प्रहरीले खाँणलाई उक्त अडिओको आधारमाभन्दा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत रहँदा समातिएका पाण्डेको बयानका आधारमा पक्राउ गरेको हो। 

भैरहवबाट फर्किएपछि आफूलाई पनि प्रहरीले पक्राउ गर्न सक्ने छनक पाइसकेका थिए। प्रहरीले आफूलाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी गराउन खोजेको सूचना पनि पाएका उनी मंगलबार अपरान्ह अचानक मोबाइल नेट्वर्कबाट गायब भए। 

नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढेदेखि नै प्रहरीले उनका गतिविधि निगरानी गरिरहेको थियो। मंगलबार बिहानैदेखि खाँणविरुद्ध रेक्कीमा सक्रिय प्रहरीहरु उनले अचानक मोबाइल फोन बन्द गरेपछि अलमलमा परेका थिए।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार पूर्वगृहमन्त्री खाँण मंगलबार अपरान्ह काठमाडौंको कोटेश्वर क्षेत्रमा आइपुगेपछि उनले प्रयोग गर्दै आएको मोबाइल फोन बन्द भएको थियो। 

मोबाइल फोन बन्द गरेपछि प्रहरीले उनी बस्न सक्ने काठमाडौं र ललितपुरका तीनै स्थानमा मंगलबारदेखि नै रेक्की बढाएको थियो। 

उनी कोटेश्वर क्षेत्रमा मोबाइल फोन बन्द गरेर गायब भएपछि प्रहरीले मंगलबार रातिसम्म निगरानी गरेर खोजेको थियो। तर बुधबार बिहान उनी चाबहिलको मैजुबहालस्थित घरमा पुगेको प्रहरीले पत्ता लगायो।

मोबाइल फोन बन्द गरेपछि फरार हुन सक्ने आशंकामा प्रहरीले उनी बस्न सक्ने सम्भावित क्षेत्रमा निरन्तर निगरानी गरेको थियो। 

बुधबार बिहान उनी आफ्ना निजी सहयोगी नरेन्द्र केसीसहित मैजुबहालस्थित निवासमै रहेको प्रहरीले टुंगो लगायो। तर त्यहाँ उनीसँग पत्नी एवम् प्रतिनिधिसभाकी सांसद मञ्जु खाँण भने थिइनन्। 

मैजुबहालमै रहेको टुंगो भएपछि सादा पोशाकका प्रहरीले घरमा निरन्तर निगरानी राखेका थिए। त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयका प्रमुख एसएसपी मनोज केसीसहितको टोली उनलाई पक्राउ गर्न पुग्यो। 

काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीसहित केसी नेतृत्वको टोली मैजुबहाल पुगेर उनी र निजी सहयोगी केसीलाई नियन्त्रणमा लियो।

पक्राउ गर्न प्रहरी आएको थाहा पाएका खाँण घरको माथिल्लो तलामा ढोका लगाएर लुकेका थिए। तर प्रहरीले ढोका तोडेर पक्राउ गरी उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइसकेको छ।

खाँणसँग जिल्ला प्रहरी परिसरमा बुधबार नै ५ घण्टा बयान लिएपछि उनको स्वास्थ्य परीक्षण गरिएको छ। अहिले उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद पनि थप भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .