ad ad

राजनीति


जसपाले वैशाख २७ पछि मात्रै मन्त्री पठाउने, अध्यक्ष यादव आफैँ छन् इच्छुक

जसपाले वैशाख २७ पछि मात्रै मन्त्री पठाउने, अध्यक्ष यादव आफैँ छन् इच्छुक

जसपा अध्यक्ष उपेन्द्र यादव


नेपालखबर
बैशाख २४, २०८० आइतबार १३:२, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले २७ वैशाखमा बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि मात्रै आफ्नो भागको एकजना मन्त्री सरकारमा पठाउने भएको छ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर त्यहीँबाट खाली रहेको वन तथा वातावरण मन्त्रालयमा पठाउने मन्त्रीबारे टुंगो गरिने भएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवको सचिवालयका अनुसार त्यसअघि सरकारमा मन्त्री पठाउनबारे हालसम्म छलफल भएको छैन। 

जसपाबाट यसअघि गत चैत १७ गते संघीय परिषद् अध्यक्ष अशोक राईले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपाका लागि दुई मन्त्रालय छुट्याइएको थियो। जसमा शिक्षा र वन तथा वातावरण थिए। 

वैशाख २७ को बैठकमा विधान अधिवेशन र सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिएका छन्। 

जसपाको भागमा परेको एउटा मन्त्रालयका लागि सांसदहरु वीरेन्द्र महतो, राजकिशोर यादव र प्रदीप यादव दाबेदार छन्। 

प्रदीप यादव यसअघि नै मन्त्री भइसकेका छन्। यस्तोमा राजकिशोर र वीरेन्द्रको सम्भावना छ। 

वैशाख १० गते बारा क्षेत्र नम्बर २ बाट विजयी भइसकेपछि अध्यक्ष उपेन्द्र यादव आफैँ पनि सरकारमा जान इच्छुक छन्। तर उनले उपप्रधानमन्त्री पद पाउनु पर्ने अडान लिएका छन्। 

तर भर्खरै चुनाव जितेकाले तात्तातै सरकारमा जाँदा गलत सन्देश जान सक्ने चिन्ता यादवलाई छ। सरकारमै जानका लागि चुनाव जितेर आएको सन्देश जान सक्ने भएकाले यादव अझै पनि पर्ख र हेरको नीतिमा छन्। 

अध्यक्ष यादवले शनिबार मात्रै आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका थिए। 

भक्तपुरमा आयोजित एक अन्तरक्रियाका क्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने जिकिर गरे। 

यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए। 

उनले कम्फरटेवल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे। 

यादवले यसअघि सांसद पदको शपथ लिने क्रममा आफैं पनि सरकारमा जान सक्ने सम्भावनाको संकेत गरेका थिए। 

तर उनले यसबारे पार्टीमा छलफल आवश्यक हुने बताएका थिए। त्यही छलफलका लागि उनले आगामी २७ गते बालकुमारीमा पार्टी बैठक बोलाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .