राजनीति


शरणार्थी प्रकरणमा सरकारलाई दबाब आए पनि झुक्न हुन्न : माधव नेपाल

शरणार्थी प्रकरणमा सरकारलाई दबाब आए पनि झुक्न हुन्न : माधव नेपाल

नेपालखबर
बैशाख २४, २०८० आइतबार १०:४, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी काण्डमा बदमासी गर्ने जोसुकै भए पनि दण्डित हुनै पर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज विहान स्थानीय संचारकर्मीहरूसँगको संवादमा अध्यक्ष नेपालले भने, 'निर्दोष पर्न भएन, दोषी उम्कन भएन। बदमासी गर्ने जोसुकै ठूला ओहदाका भएपनि छुट्न भएन।'

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नलाई बचाउने दबाबअघि झुक्न नहुने बताए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटलाई लक्षित गर्दै उनले भने, 'घटनामा संलग्न दोषीलाई बचाउन उच्च राजनीतिक नेतृत्वबाट सरकार र गृहमन्त्रीलाई समेत दबाब आएको होला। तर दबाबसामु झुक्नु हुँदैन भन्ने आम सबैको मान्यता छ। बदमासी गर्ने जोसुकै हुन, जस्तोसुकै ओहदाको भएपनि उनीहरूलाई कानूनको दायरामा ल्याए दण्डित गरिनु पर्छ।'

शनिबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्ता भएको थियो।

गृह मन्त्रालयमा रहेको भुटानी शरणार्थीको नामवलीसम्बन्धी फाइल संशोधन गरेर नेपाली नागरिकको नाम समावेश गरेर अमेरिका पठाउने तयारी भइरहेको यस घटनामा संलग्नको आशंकामा पक्राउ परेकाहरूबाट खुलेको थियो।

उक्त घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन्।

यसअघि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट बिहीबार पनि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए। त्यस क्रममा उनले पटक पटक मन्त्री भइसकेको र सांसद भइसकेको व्यक्तिलाई बाटोबाटै पक्राउ गर्नुनपर्ने प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad