ad ad

राजनीति


नेपाल कुनै पनि प्रकारको सैन्य गठबन्धनमा सामेल हुँदैनः उपप्रधानमन्त्री पोखरेल

नेपाल कुनै पनि प्रकारको सैन्य गठबन्धनमा सामेल हुँदैनः उपप्रधानमन्त्री पोखरेल

नेपालखबर
पुस २४, २०७६ बिहिबार १०:४५,

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन्।

प्रेस संगठन नेपाल कास्कीद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा एमसीसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) का सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले योे विषय संसद्मा छलफलका क्रममा रहेको र बहुकोणबाट राष्ट्रिय हितलाई सर्वोपरी राखेर यसको फैसला हुने बताए।

‘यो विषय संसद्मा छ, छलफल हुँदैछ, राष्ट्रिय हितलाई सर्वोपरी राखेर निर्णय गरिन्छ’, उनले भने, ‘हामी कुनै इन्टरनेशनल मिलिट्री एलाइन्समा सामेल हुँदैनौँ।’ विद्युत्, विकास र यातायातका क्षेत्रमा नेपाली जनताको अधिकतम् हितमा प्रयोग गर्नेगरी विगतको सरकारका पालामा नै यो विषय औपचारिक माग गरिएको उनले उल्लेख गरे।

भारतसँगको सीमा विवादका सम्बन्धमा सरकारले औपचारिक दावीसहित पहिलोपटक आधिकारिकरूपमा कूटनीतिक नोट पठाएको जानकारी दिँदै उनले वार्ताको मिति तय हुनासाथ विवादित विषय छलफलका आधारमा टुङ्गोमा पु¥याइने धारणा राखे।

‘हामी हाम्रो एक इन्च भूमि पनि अरुलाई अतिक्रमण गर्न दिँदैनौँ, अरु कसैको एक इन्च जमीन पनि हामीलाई चाहिँदैन’, उनले भने, ‘सुगौली सन्धिको बेला जुन हाम्रो सीमा थियो त्यसमा हामी ध्यान दिन्छौँ।’ सुगौली सन्धिपछि एकतर्फीरूपबाट सीमा साँघु¥याउने काम भएकामा उनले गम्भीर ध्यानकर्षण भएको बताउँदै ऐतिहासिक तथ्य, प्रमाणका आधारमा हाम्रो सीमा जहाँ थियो त्यहीँ कायम राखिने बताए।

नेपाल ट्रष्टको चल एवं अचल सम्पत्ति शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यवसायमा उपयोग गर्ने स्पष्ट नीति रहेको उल्लेख गर्दै ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले कानूनसम्मत ढंगले यिनीहरूको सदुपयोग गरिने स्पष्ट पारे।

पोखरामा रहेका रत्न मन्दिर र हिमागृहका सम्बन्धमा उनले प्रदेश र स्थानीय सरकारसँग परामर्श गर्दै उपयोग गरिने बताउँदै भने, ‘अपारदर्शी ढंगले गैरकानूनीरूपमा केही काम हुँदैन, जनताको अधिकतम् हितमा यसलाई प्रयोग गर्छौँ।’

उपप्रधानमन्त्री पोखरेलले यही पुस २७ गते हुने संसद् बैठकअघि नै संघीय संसद्को सभामुखका विषयमा टुंगो लागिसक्ने जानकारी दिए।

पश्चिम एशियामा रहेका नेपालीको अवस्था सम्बन्धमा सोधिएको प्रश्नमा उनले अन्य काम एवं शान्ति सेनामा कार्यरत नेपालीको अवस्था एवं सुरक्षा सम्बन्धमा नेपाली सेनाको मुख्यालयमार्फत त्यहाँस्थित संयुक्त राष्ट्रसंघ र सम्बद्ध एजेन्सीसँग सम्पर्क भइरहेको जानकारी दिए। नेपालीहरुको सुरक्षाका लागि सजगता अपनाइएको उनले बताए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .