राजनीति


त्रिवि समाजशास्त्र विभागका प्रमुखमाथि भएको आक्रमणको स्ववियुद्वारा निन्दा

त्रिवि समाजशास्त्र विभागका प्रमुखमाथि भएको आक्रमणको स्ववियुद्वारा निन्दा

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १७:४५, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले समाजशास्त्र केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. युवराज लुईंटेलमाथि आंशिक शिक्षक ललित बिष्टद्वारा भएको भौतिक आक्रमणको प्रयास निन्दनीय भएको बताएको छ। 

स्ववियु अध्यक्ष श्यामराज ओझाले शुक्रबार विज्ञप्ति जारी गरेर विष्टद्वारा लुईंटेलमाथि भएको भौतिक आक्रमणको प्रयास निन्दनीय भएको बताएका हुन्। 

‘अराजक शैलीमा गरिएको भौतिक आक्रमणको प्रयास, अभद्र र अमर्यादित व्यवहार निन्दनीय छ। यस घटनाले समाजशास्त्र केन्द्रीय विभाग र समग्र त्रिभुवन विश्वविद्यालयको गरिमा र विश्वसनियता माथि समेत प्रश्न उठेको छ,’ उनले भनेका छन्। 

घटनाले त्रिभुवन विश्वविद्यालय भित्रको शैक्षिक तथा प्राज्ञिक वातावरणमा समेत असर पर्ने देखिएको भन्दै ओझाले यस किसिमका घटना सिर्जना हुन नदिन विश्वविद्यालयको ध्यानकर्षण पनि गराएका छन्। 

‘सञ्चारका विभिन्न माध्यमबाट बाहिरिएको उक्त घटनाको भिडियो क्लिपमा देखिएको अमर्यादित हर्कत सिर्जना हुनुका कारणहरू पत्ता लगाई उक्त घटनामा संलग्नहरूको निष्पक्ष रूपमा सत्यतथ्य छानबिन गरी दोषी उपर कानुनबमोजिम कारबाहीको माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। 

राजनितिक पहुँचका आधारमा गरिने पदीय भागवण्डा तथा प्राध्यापक नियुक्तिले विश्वविद्यालको साख जोगाउन नसक्ने भएकाले राजनीतिक पूर्वाग्रहका साथ गरिने सबै क्रियाकलाप तथा व्यवहारको अन्त्य गर्न स्ववियुले पदाधिकारीसँग माग पनि गरेको छ।

बिहीबार लुईंटेलमाथि कार्यकक्षमा नै हेलमेटले हान्ने प्रयास गरिएको भिडिओ सार्वजनिक भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad