ad ad

राजनीति


पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेर मेयर जिते, वर्षदिन पछि कांग्रेसमै फर्किए

पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेर मेयर जिते, वर्षदिन पछि कांग्रेसमै फर्किए

नेपालखबर
बैशाख १६, २०८० शनिबार १६:५, काठमाडौँ

महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री पुनः नेपाली कांग्रेसमै फर्किएका छन्। 

शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित एक कार्यक्रममा मेयर क्षेत्रीलाई पार्टी सभापति देउवाले कांग्रेसमा स्वागत गरेका हुन्।

एक वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले बर्दिबास नगरपालिकाको मेयरमा टिकट नदिएपछि क्षेत्रीले आफ्नो छुट्टै टिम खडा गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीबाटै बागी उम्मेदवार बनेपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। त्यतिबेला उनी पार्टीको महाधिवेशन प्रतिनिधि थिए। 

स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्रीको समूह मेयर, उपमेयरसँगै बर्दिबास नगरपालिकाको चारवटा वडामा विजयी भएको थियो। 

क्षेत्रीलाई पार्टी केन्द्रले पुरानै जिम्मेवारी दिने तयारी गरेको संकेत मेयर क्षेत्रीका स्वकीय सचिव विनोद ढुंगेलले गरे। 

‘आधिकारिक पत्र आएपछि मात्रै सबैकुरो प्रष्ट होला,’ ढुंगेलले नेपालखबरसँग भने, ‘तर मैले पाएको सूचना अनुसार उहाँलाई पार्टीले महाधिवेशन प्रतिनिधिको पुरानै जिम्मेवारी दिनेगरी कारबाही फुकुवा गरेको हो।’

शेरबहादुर देउवाले कारबाही फुकुवाको लागि काठमाडौं बोलाएपछि क्षेत्री शनिबार मात्रै काठमाडौं पुगेका थिए।

स्वतन्त्रबाट टिमसहित मेयरमा विजयी भएदेखि नै क्षेत्रीले कांग्रेसले आफूमाथि गरेको कारबाही फुकुवाको लागि पहल गरेका थिए। तर, पार्टी नेतृत्वले उनीमाथिको कारबाही फुकुवाप्रति आनाकानी गर्दै आएको थियो। 

पार्टीले कारबाही फुकुवा नगरेपछि उनले ४ मंसिरको निर्वाचनमा पनि संघ र प्रदेशका सबै पदमा पार्टीले खडा गरेका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार खडा गरेका थिए।

तर, उनले खडा गरेका उम्मेदवारले संघ र प्रदेशसभाको निर्वाचनमा भने अपेक्षाकृत मत पाउन सकेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .