ad ad

राजनीति


कांग्रेसमा चर्कियो रुपान्तरणको बहस, कसरी हुन्छ सुधार?

कांग्रेसमा चर्कियो रुपान्तरणको बहस, कसरी हुन्छ सुधार?

केशव सावद
बैशाख १४, २०८० बिहिबार २०:५१, काठमाडौँ

मूलधारका दलहरु झस्किने गरी उपनिर्वाचनको नतिजा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा गएपछि नेपाली कांग्रेसमा सुधार र रुपान्तरणको बहस सुरु भएको छ। पार्टीबाट राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको गृह क्षेत्रमा अकल्पनीय पराजय बेहोर्न परेपछि कांग्रेसमा नेताहरुले रुपान्तरणको बहस सुरु गरेका हुन्।

उपनिर्वाचनको मत परिणामले दलहरुलाई ‘सच्चिने कि सकिने’ भन्ने विकल्प दिएको भन्दै कांग्रेसका शीर्ष नेताहरुका अभिव्यक्ति पनि पार्टी सुधार र रुपान्तरणको बहसमा केन्द्रित हुन थालेका छन्।   

सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरुसँगको छलफलका क्रममा उपनिर्वाचनले ठूला पार्टीप्रति जनताले चासो नदेखाएकाले पार्टीलाई सुधारेर जानु पर्ने आवश्यकता औँल्याएसँगै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणमा जोड दिएका छन्। 

कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालाले पनि उपनिर्वाचनको मत परिणामपछि पार्टी नयाँ ढंगबाट अगाडि बढ्नु पर्ने बताएका छन्।

‘उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको छ। युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको हो,’ उनको भनाइ छ, ‘मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो। अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ।’

गृहनगर विराटनगरबाट कोइरालाले उक्त अभिव्यक्ति दिएको एक दिनपछि महामन्त्री शर्माले बुधबार उपचुनावमा विजयी उम्मेदवारलाई शुभकामना दिँदै मत परिणामले कांग्रेसलाई रुपान्तरित हुन सन्देश दिएको धारणा सार्वजनिक गरेका छन्। 

उनले देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुरुप आफूलाई बदल्नु पर्ने र आफूहरु नवीन अभियानमा नयाँ ढंगले जुट्ने बताएका छन्। 

शर्मापछि बुधबार बेलुका अर्का महामन्त्री थापाले पनि वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरेर कांग्रेसलाई जनभावनाअनुसार नयाँ जीवन दिने गरी लाग्नु पर्ने धारणा सार्वजनिक गरेका छन्। 

‘जहाँ समस्या छ, त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले, सौम्यता र धैर्यपूर्वक सबैको कुरा सुनौं, मनन गरौं अनि आफैँतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जनभावनाअनुसार नयाँ जीवन दिने गरी लागौं,’ बुधबार बेलुकी उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सभापति देउवा, महामन्त्रीद्वय थापा–शर्मा र नेता कोइरालाले भने जसरी के साँच्चै पार्टीमा सुधार र रुपान्तरण हुन्छ? यतिबेला कांग्रेस नेता–कार्यकर्ताको मनमा कौतुहल जागेको छ। उनीहरुमा पार्टीभित्र सुधार र रुपान्तरणका लागि को–को सुध्रिन्छन् र कस्तो रुपान्तरण हुन्छ भन्ने प्रश्न पनि भेटिन्छ। 

उपनिर्वाचनले मूलधारका दलहरुप्रति जनताले चासो नदेखाएपछि पार्टीलाई सुधारेर जानु पर्ने आवश्यकता देखेका सभापति देउवा रुपान्तरणका लागि कांग्रेसले बजेट ल्याउँदा जनतालाई सम्बोधन गर्ने र जनतासँग जोडिने कार्यक्रम ल्याउनु पर्ने बताइरहेका छन्।

प्रतिनिधि सभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेल भने पार्टीको सुधार र रुपान्तरणका लागि उपनिर्वाचनको समीक्षा गरेर अगाडि बढ्ने परिस्थिति हुनुपर्नेमा जोड दिन्छन्। 

‘एउटा राजनीतिक पार्टीका लागि निर्वाचनहरुमा प्राप्त हुने परिणामले सकिने भन्ने हुँदैन। तर, त्यसलाई समीक्षा गर्ने, त्यसको आधारमा अनुमान गर्ने, जनताले कसरी हेरिरहेका छन्, कस्ता प्रश्न उठाइरहेका छन्, कुन विषयले हामीलाई बढी क्षति, असर पुर्यायो भन्ने बारेमा समीक्षा गरेर त्यसको आधारमा सच्याएर अगाडि बढ्ने परिस्थिति हुनुपर्छ,’ उनको भनाइ छ। 

कांग्रेस नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल उपनिर्वाचनको मत परिणामबारे एकअर्कालाई दोषारोपण गर्ने भावबाट नभएर सतर्क भएर सप्रिनु पर्ने बेला भएको बताउँछन्। 

‘सतर्क हुनुपर्छ। आत्तिने होइन, आत्तिएको भावबाट आफू उम्केर अर्कालाई दोषारोपण गर्ने भावबाट होइन, हामी सतर्क भएर सप्रिनु पर्ने बेला भएको छ,’ कांग्रेस रुपान्तरण कसरी हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘आफूबाट सच्चिने अभियान सुरु गर्नु पर्छ।’

चरित्र सुधार्ने र कांग्रेसलाई गतिशील बनाउने कुरा आफूबाट सुरु हुने रिजालले बताए। 

‘एउटा मानसिकता के छ भने तपाईं सच्चिनुस् है तपाईं सच्चिनुस्, म बिग्रने भएँ, म सकिने भएँ भन्ने भाव छ,’ रिजाल भन्छन्, ‘त्यसरी त बन्दैन। म सकिने भए अर्को किन सच्चिएला र? म सकिने भए मबाटै सच्चिन सुरु गर्नु पर्ला नि? अर्काको टाउकोमा दोष थुपारेर आफू उम्किन खोज्ने बाटोबाट कांग्रेस गतिशील बन्न सक्दैन।’ 

नेता कोइराला पनि उपनिर्वाचनको मत परिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने र हारको दोष एकजना माथि थोपरेर अरु उम्किने अवस्था नरहेको बताउँछन्। निर्वाचनमा पार्टीले बेहोरेको पराजयको जिम्मेवारी सबैले लिनुपर्ने उनको भनाइ छ। 

६ महिनाअघि दर्ता भएको दलले उपनिर्वाचनमा गरेको विजय कांग्रेसलाई सतर्क गर्ने घण्टीका रुपमा मात्रै बजेको रिजालको भनाइ छ। 

‘यो सतर्कताको घण्टी हो। अझ पनि त्यो उहाँहरुको स्वागतको मन्त्रणको घण्टी बन्न सकेको छैन,’ उनले भने, ‘हामीलाई सतर्क गर्ने घण्टीका रुपमा मात्रै बजेको हो।’

अर्का नेता पौडेल उपनिर्वाचनबाट केही कुरा गुमे पनि कांग्रेसलाई धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउँछन्। 

‘निर्वाचन हारेर केही कुरा गुम्यो होला। धेरै कुरा सिक्ने अवसर हामीलाई प्राप्त भएको छ,’ उनको भनाइ छ, ‘आमनिर्वाचनमा गएर परिणाम आएको भए हामीलाई ठूलो क्षति हुन्थ्यो। उपनिर्वाचनमा केही थोरै क्षति बेहोरेर ठूलो पाठ सिक्ने मौका हामीलाई प्राप्त भएको छ। त्यसकारण यसलाई अवसरका रुपमा हामीले उपयोग गर्न सक्नुपर्छ।’ 

कांग्रेसका युवा नेता शंकर तिवारी भने पार्टी रुपान्तरणको उपाय सभापति देउवासँग मात्रै रहेको बताउँछन्। कांग्रेस परम्परागत शैलीबाट चलिरहेको र नयाँपनका लागि महामन्त्रीद्वय थापा र शर्माले पार्टीमा दबाब दिँदै आएको उनको भनाइ छ।  

‘सभापति बहुमतको अहंकारले पुरानै शैलीमा चलिरहनुभएको छ। अहिलेसम्म कांग्रेसमा रुपान्तरणको उपाय भनेको शेरबहादुर देउवासँग मात्रै छ। उहाँ साधक बन्ने कि बाधक भन्ने कुरा हो,’ तिवारीले भने, ‘नेपाली कांग्रेसले परम्परागत शैलीबाटै टिकट बाँड्यो, अहिले पनि त्यही गरिरहेको छ। नयाँपन छैन। महामन्त्रीहरु नयाँपनका लागि दबाब दिइरहेका छन्।’  

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको नजरमा पार्टी सुधार र रुपान्तरणका लागि आफूलाई अपडेट गरेर पार्टीका नीति, कार्यक्रमहरु संशोधन गर्न आवश्यक छ। पार्टीलाई थप राम्रो बनाउनका लागि नेताहरु परिवर्तन हुन जरुरी रहेको उनको भनाइ छ। 

‘अब समयानुकूल कांग्रेसले आफूलाई अपडेट गर्न आवश्यक छ। पार्टीका नीति, कार्यक्रम, हिजोका गाइडलाइनहरु संशोधन गर्नुपर्छ,’ महर भन्छन्, ‘पार्टी थप राम्रो बनाउनका लागि हामी परिवर्तन हुन जरुरी छ।’ 

कांग्रेसले कांग्रेसलाई सहयोग नगर्ने, एउटाको मानमर्दन हुँदा अर्काे खुसी हुने परिपाटी रहँदासम्म पार्टी परिवर्तन सम्भव नभएको उनको बुझाइ छ। 

‘केन्द्रीय कार्यसमिति बैठक बोलाएर उपनिर्वाचनको समीक्षा गर्नु पर्छ। कमिकमजोरीहरु सच्याएर अघि बढ्नु पर्छ,’ महरले भने, ‘कांग्रेसले कांग्रेसलाई सहयोग नगर्ने, एउटाको मानमर्दन हुँदा अर्काे खुसी हुने चलन रहँदासम्म परिवर्तन सम्भव छैन।’ 

युवा नेता पौडेल केन्द्रीय कार्यसमितिको बैठकमा उपनिर्वाचनको समीक्षासँगै सुधार र रुपान्तरणबारे छलफल हुने बताउँछन्। 

‘अब केन्द्रीय कार्यसमितिको बैठक हुन्छ। बैठकमा यसका बारेमा हामी समीक्षा गर्छौँ,’ उनले भने, ‘निर्वाचन हामी जित्छौँ भन्ने थियो। त्यसअनुसारको परिणाम नआइसकेपछि के भयो, कहाँनिर समस्या भएको रहेछ, कुन कुरामा मतदाताले हामीमाथि प्रश्न गरेका रहेछन् भन्ने कुरा समीक्षा गर्न जरुरी छ।’ 

अर्का युवा नेता तिवारी पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जनअपेक्षाअनुसार काम गरे पनि पार्टी रुपान्तरणतर्फ जाने धारणा राख्छन्। मन्त्रीहरुलाई जनताप्रति जिम्मेवार बनाउन सभापति र महामन्त्रीहरु लाग्नुपर्ने उनको भनाइ छ। 

‘सरकारमा गएका मन्त्रीहरुले जनअपेक्षा अनुसारको काम गरेको हुनुपर्यो। त्यसमा खरो उत्रिए सबै कुरा सकियो। कांग्रेसका मन्त्रीहरुले यस्तो राम्रो काम गरेका छन् भन्ने बनाउन सक्यो भने सिद्धिहाल्यो नि,’ तिवारी भन्छन्, ‘मन्त्रीहरुको देश र जनताप्रति सामूहिक दायित्व हुनुपर्यो। मलाई फलानाले मन्त्री बनाएको हो, मैले उसँग हिसाब मिलाएको छु, बाँकी मलाई मतलब छैन भन्नु भएन। तिनीहरुलाई जिम्मेवार बनाउनका लागि पार्टी सभापति र महामन्त्रीहरु लाग्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .