राजनीति


जब इरानका सर्वोच्च नेता खमेनी मृतक जर्नेलको पार्थिव शरीरअघि नै भक्कानिए

जब इरानका सर्वोच्च नेता खमेनी मृतक जर्नेलको पार्थिव शरीरअघि नै भक्कानिए

नेपालखबर
पुस २१, २०७६ सोमबार ९:५७,

इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनी अमेरिकी आक्रमणमा मारिएका शक्तिशाली जर्नेल कासिम सुलेमानीको श्रद्धाञ्जलि कार्यक्रममा भक्कानिएका छन्। त्यसपछि त्यहाँ भेला भएका लाखौं मानिसहरु झनै स्तब्ध भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

सोमबार श्रद्धाञ्जलि कार्यक्रममा जम्मा भएका लाखौंको भीड रोइरहेका बेला सर्वोच्च नेता खमेनी मृतक सुलेमानीको पार्थिव शरीरअघि प्रार्थना गर्ने क्रममा आफैं पनि सम्हालिन सकेनन् र रोए, समाचार एजेन्सी एपीले जनाएको छ।

इरानका सबैभन्दा शक्तिशाली मानिएका जर्नेल सुलेमानीको हत्यापछि अहिले तेहरान र वाशिंगटनबीच तनाव उत्कर्षमा पुगेको छ। इरानले जर्नेलको हत्याको बदला लिएरै छाड्ने घोषणा गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई प्रतिवाद नगर्न र त्यसो गरेमा तत्काल र कडा आक्रमण गर्ने एकपछि अर्को चेतावनी दिइरहेका छन्।

एपीका अनुसार सो श्रद्धाञ्जलि सभामा आएको भीडमा आँखाले भ्याउनेसम्म मान्छे नै मान्छे मात्रै देखिएका थिए। इरानी सरकारी टीभीले दशौं लाख आएको बताएको छ।

सो भीडलाई सम्बोधन गर्दै मृतक सुलेमानीकी छोरी जैनबले ‘पश्चिम एसियामा रहेका अमेरिकी सैनिकका परिवारले तीनका बालबच्चाको मृत्यु पर्खेर दिन बिताउने’ बताएकी थिइन्। उनले त्यसो भनिरहँदा लाखौं मान्छेहरुले गडगडाहट रुपमा समर्थन गरेका थिए।

सोही सभामा सर्वोच्च नेता खामेनी प्रार्थनाका लागि उपस्थित थिए। सुलेमानीसँग निकै निकट सम्बन्ध भएको मानिएका खामेनी प्रार्थनाका क्रममा थामिन नसकेर रोएको बताइएको छ। त्यसपछि भीड झनै स्तब्ध भएको थियो।

त्यतिबेला उनको आडैमा सुलेमानीका उत्तराधिकारी इस्माइल गनी, इरानी राष्ट्रपति हसन रुहानी र अन्य शीर्ष नेताहरु लहरै उभिएका थिए।

त्यसैबीच, प्रदर्शनकारीले अमेरिकी झण्डा र ट्रम्पको पुतला जलाएका थिए।

त्यहाँ दुवैतर्फबाट भइरहेका गतिविधि र तयारी हेर्दा ठूलै युद्धको संकेत देखिएको धेरैले अनुमान गरेका छन्।

यसैबीच, आइतबार इराकको संसदले त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ।

अमेरिकाले जर्नेलको हत्या गरेपछि सिर्जित परिस्थितिको जवाफमा इराकले सो निर्णय गरेको समाचार एजेन्सीहरूले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad