गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री डा। प्रकाशशरण महतसँग भेट गरेका छन्।
शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा. महतसमक्ष राखेका थिए।
आज शुक्रबारदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा. बद्री केसीले ज्ञापनपत्र पढेर मन्त्री डा. महतलाई सुनाएका थिए।
अर्थमन्त्री डा. महतलाई ज्ञापनपत्र बुझाउँदै एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरता लगायतका समस्याहरु राखेका थिए।
माग सुनेपछि अर्थमन्त्री महतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको बताए। उनले एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदा व्यवहारिक कठिनाइ भएको उनको भनाइ थियो। तथापि, सरकारले एनआरएनएलाई निराश पार्ने काम नगर्ने आश्वासन अर्थमन्त्री महतले दिए।
‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ,’ उनले भने, सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन। लगानी गर्न चाहने साथीहरुले कुनै कारणबाट निरुत्साहित हुनु पर्दैन।’
लगानीमैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने र आगामी बजेटमार्फत् पनि धेरै कुरा सम्बोधन गर्ने उनले बताए।
भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व उपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, एनआरएनए युके पूर्वअध्यक्ष योगेन क्षेत्रीलगायत दर्जन बढीको सहभागिता थियो।

Shares

प्रतिक्रिया