राजनीति


‘पिसकोर’ कार्यकर्ताको भिसा सहज बनाइदिन गृहमन्त्रीसँग अमेरिकी राजदूतको आग्रह

‘पिसकोर’ कार्यकर्ताको भिसा सहज बनाइदिन गृहमन्त्रीसँग अमेरिकी राजदूतको आग्रह

नेपालखबर
चैत २२, २०७९ बुधबार १४:३२, काठमाडौँ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल–अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विस्तृत शान्तिसम्झौताको मर्मअनुसार शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए।

संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धी विधेयक संसदमा पेश भैसकेको समेत उनले बताए।

राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताए।

राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकासनिर्माणलाई प्रभावित नगर्ने बताए। राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए।

कोभिडपछि अमेरिकी सहयोग संस्था ‘पिसकोर’को काम प्रभावित भएकाले ‘पिसकोर’ कार्यकर्ताको भिसा सहजताका लागि राजदूत थम्पसनले आग्रह गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताए।

नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राखे। श्रेष्ठले त्यसमा पूर्ण सुरक्षा हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad