अवैधानिक गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेका १२२ चिनियाँ नागरिकको अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बुझाएको छ।
आइतबार प्रहरीले काठमाडौँका मनमैंजु, बाँसबारी र बुढानिलकण्ठबाट पक्राउ परेका चिनियाँ नागरिकमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासनमा बुझाएको हो। उनीहरुलाई प्रहरीले यही पुस ७ गते पक्राउ गरेको थियो।
उनीहरुको अहिले जिल्ला प्रशासन कार्यालयमा थुनछेक बहस भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। बहस सकिएपछि आजै फैसला हुने बताइएको छ।
प्रहरीले अन्य अपराधिक गतिविधिमा उनीहरुको संलग्नता पुष्टि गर्न नसकेपछि उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले उनीहरुको बहसपछि कसुर देखिए सजाय हुने र नदेखिए चीन फिर्ता गर्ने तयारी भइरहेको बताए। उनले अहिलेसम्म पक्राउ परेका चिनियाँ नागरिकले अध्यागमनको कानुन उल्लंघनबाहेक अन्य कसुरमा संलग्नता नभेटिएको बताए।

प्रतिक्रिया