नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन्।
सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसदले विश्वास गर्नुपर्ने समेत बताए।
‘माननीयहरुले राखेको विषय उहाँहरुको सार्वभौम अधिकारको कुरा हो। हामी सबैले बुझ्न के पर्छ भने सभामुख भनेको लिडर अफ द हाउस,’ बर्तौलाले भने, ‘हेड अफ द इन्स्टिच्युसन। शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका। प्रतिनिधि सभाको सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिंगो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो।’
सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने उनको भनाई छ।
‘उहाँ रेफ्रिको भुमिकामा हुनुहुन्छ। रेफ्रिले कतिबेर सिठी बजाउने भन्नेकुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रिको पर्फमेन्स के हुन्छ? सिंगो खेलको अवस्था के रहन्छ?,’ उनले भने।
उनले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारीतामा गतिरोध उत्पन्न हुने पनि बताए।
‘जब हाउसको विषय रहन्छ, सभामुख एउटा रेफ्रि हो। रेफ्रिले निष्पक्षता, तटस्थताको आधारबाट भुमिका निर्वाह गर्नुपर्छ। यदी त्यसप्रकारको भुमिका निर्वाह गर्नको लागि जे संवैधानिक अधिकारहरु छ।’ बर्तौलाले भने।
हामीले हिजो व्यवस्था गरेका अधिकारहरु छ, त्यो अधिकारलाई कुण्ठित गर्नेगरी, हातखुट्टा बाँध्नेगरी अर्थात कार्यव्यवस्था परामर्श समितिमा परामर्श गरेर होइनकी सबै निर्णय गरिदिएर त्यो निर्णय बमोजिम मात्रै सभामुख आसनमा रहने, रेस्टरुम निस्किन पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयबाट भन्ने आशयबाट हामी जान थाल्यौँ भने संसदीय मूल्य, मान्यता, यसको गरिमा र संस्कृतिमा र सिंगो हाउसको प्रभावकारीतामा गतिरोध निर्माण हुन्छ ।’
सचेतक बर्तौलाले सभामुखले तटस्थ भुमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गरे।
नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्नु नहुने उनले बताए।
‘सभामुखले तटस्थ भुमिका निर्वाह गर्न सक्नुभएन। निष्पक्षता उहाँको रहेन। कहीँ प्रश्न गर्ने भुमिका रह्यो भने हाम्रा संविधानमा र यही नियमावलीमा पनि हामीले आचरण अनुरुप काम नगरेमा प्रश्न गर्ने, त्यसको उपचार खोज्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘सरकार निर्माणको अंक गणित एउटा हो। तर हाउस सञ्चालनको विषय फरक कुरा हो। संसदलाई सञ्चालन गर्ने सन्दर्भमा सरकार निर्माणको अंक गणित, प्रतिपक्ष वा सत्तापक्ष यस हिसावले सत्ताको छायाँको आधारबाट अगाडी बढाउने यस हिसावबाट अगाडी बढ्न खोज्यो भने समग्र संसदको माध्यमबाट हामीले राष्ट्र र जनताको मुद्दाहरुमा डिबेट गरेर जाने फोरम बनाउन सक्दैनौँ।’
प्रतिक्रिया