प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मतबारे निर्णय लिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन गरिएको छ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकलगत्तै कांग्रेस कांग्रेस संसदीय दलको बैठक तय गरिएको छ। दिउँसो १२ बजे संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकिएको छ।
यसअघि शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति गरेको छ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिएका थिए। तर राष्ट्रपति निर्वाचनसँग बदलिएको समीकरणका कारण नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएका थिए।
एमाले र राप्रपाले विश्वासको मत फिर्ता लिएर सरकारबाट बाहिरिएपछि दाहालले पुनः विश्वासको मत लिनुपर्ने भएको हो।
प्रतिक्रिया