ad ad

राजनीति


तीन दल समेटेर सीके राउतले उपेन्द्रविरुद्ध किन गरे मोर्चाबन्दी?

तीन दल समेटेर सीके राउतले उपेन्द्रविरुद्ध किन गरे मोर्चाबन्दी?

सागर न्यौपाने
चैत ३, २०७९ शुक्रबार २०:३३, काठमाडौँ

उपेन्द्र यादव मधेश आन्दोलनपछि उदाएका नेता हुन्। पहिलो संविधान सभा चुनावमा उनले नेतृत्व गरेको मधेशी जनाधिकार फोरम चौथो शक्ति बन्यो। ५२ सिट जितेको सो दल कांग्रेस र एमालेको गढ भत्काउँदै मधेशकै सबैभन्दा ठूलो दल बनेको थियो।

पहिलो संविधान सभादेखि २०७४ को प्रतिनिधि सभा चुनावसम्म उपेन्द्र यादवको पार्टी मधेशमा निर्णायक शक्ति देखिन्थ्यो। 

तर, यसपटकको चुनावमा यादवको त्यो शक्ति कायम रहेन।

१५ वर्षपछि मधेशमा कांग्रेस र एमाले बलियो शक्ति बन्दा  उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग पहिलोपटक चुनाव हारे। 

तर, जसपाले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक समेत गरेर १२ स्थान जितेको छ। सांसद संख्याको हिसाबले जसपा छैटौं ठूलो शक्ति पनि हो।

जनमत र जसपा मिलेरै मधेश प्रदेशको सरकार चलाएका छन्। तर यसपटक उपराष्ट्रपति चुनावमा भने राउतको जनमत पार्टीले जसपाविरुद्ध उम्मेदवार उठायो। 

उपराष्ट्रपति पदमा चैत ३ गते भएको चुनावमा जसपाकै रामसहायप्रसाद यादवले सानदार मत पाएर जित हात पारे।

रामसहायलाई कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिए। मनोनयनका क्रममा जनमतकी ममता झाको पक्षमा रहेका मधेशकेन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी शुक्रबार बिहान १० बजेसम्म त्यही अडानमा थिए।

यसरी मधेशमा उपेन्द्र नेतृत्वको जसपाविरुद्ध लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी उभिने कोसिस गरेका थिए।

मधेश मामिला विश्लेषक चन्द्रकिशोर मधेशमा जसपाबाहेकका दल शक्ति विस्तारको प्रयासमा रहेको बताउँछन्। 

‘मधेशको भावी शक्ति संरचनामा एकातिर उपेन्द्र भए,’ उनले नेपालखबरसँग भने, ‘अर्काेतिर मधेशकै बाँकी शक्ति मिल्छन् भन्ने देखाएको छ।’

मधेशकै दलहरु नयाँ शक्ति विस्तारमा लाग्दा उपेन्द्रले केही राष्ट्रिय दलको साथ पाएका छन्। यो साथ केही समयका लागि भएको चन्द्रकिशोर बताउँछन्।

‘संघीय क्याबिनेटमा जुन समीकरण बन्यो, उपेन्द्रबाहेकका मधेश केन्द्रित दलले राजनीतिक शक्ति आर्जन गर्न र आफ्नो हिस्सेदारी खोज्न अर्काे शक्ति निर्माण गरेका हुन्,’ उनले थपे। 

तर, मधेश मामिलाका जानकार तुलानारायण साह परिस्थिति अनुसार नयाँ समीकरण बनेको बताउँछन्।

‘पहाडी समुदायको नेतृत्व गर्ने कुन दल मिलेका छन् र मधेशी दल एक हुने कारण खोज्नुपर्ने?’ साहले भने, ‘आफ्नो अस्तित्व जोगाउन मोर्चाबन्दी हुन्छ।’

‘जसपाले परिस्थिति अनुसार नयाँ समीकरण बनाएको हो, चुनावमा एमालेसँग उपेन्द्रजी मिल्नुभयो, अहिले आएर कांग्रेस–माओवादीसँग मिलेर उपराष्ट्रपति जिताउनुभयो। उहाँको रणनीति सफल भएको हो,’ साहले थपे।
 
यही गठबन्धन स्थिर रहने सम्भावना भने उनी कम देख्छन्। 

‘विगतमा संविधान जारी गर्नेबेलामा कांग्रेस–एमाले र माओवादी एकै ठाउँमा उभिँदा उपेन्द्र, महन्थ र राजेन्द्रजीहरु एकै ठाउँमा उभिएर विरोध गर्नुभएको हो,’ उनले भने, ‘आफू अनुकूल पार्न गठबन्धन हुनसक्छ।’ 

चन्द्रकिशोर मधेशमा प्रष्ट रुपमा नयाँ पार्टीको शक्ति विस्तार भइरहेको देख्छन्। 

‘अब मधेशमा जसपा मात्र छैन, अन्य दलले शक्ति सञ्चयका क्रममा एकै ठाउँमा छौँ भन्ने देखाएका छन्,’ चन्द्रकिशोरले भने। 

साह भने अहिले प्रतिस्पर्धा गरिरहेका दलहरु भोलि नागरिकता विधेयक जस्ता एजेन्डामा फेरि एकै ठाउँमा उभिन सक्ने बताउँछन्।

उपनिर्वाचनबाट संसद् प्रवेश गर्ने उपेन्द्रको योजना सफल हुने देखिन्छ। बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उनको ठाउँमा उपनिर्वाचन हुन्छ। त्यही उपचुनावबाट उपेन्द्र उठ्न चाहन्छन्।

तर, उनीविरुद्ध मधेश केन्द्रित अरु दल उभिन सक्ने सम्भावना पनि छ। अब उनलाई नेकपा एमाले पनि लाग्न सक्ने केही नेताहरु बताउँछन्। प्रतिनिधि सभा र प्रदेश सभामा उपेन्द्रले एमालेसँग तालमेल गरेका थिए। त्यो तालमेलले एमालेलाई फाइदा भएपनि आफूलाई नभएको उनको विश्लेषण छ। 

सप्तरी २ बाट जनमत पार्टीका सीके राउतसँग निकै फराकिलो मतले पराजित हुनुका कारण एमालेको मत आफूलाई नपरेको उपेन्द्रको विश्लेषण छ।

बारा २ को उपनिर्वाचनमा उपेन्द्र उठे उनले जित्ने बलियो सम्भावना देख्छन् चन्द्रकिशोर।

‘उपेन्द्रलाई पाँच वर्ष जनताले अस्वीकार गरेर संगठन बनाउन समय दिएका हुन्, संसदमा उनले कस्तो गरे? उपेन्द्र किन संसदमा अनिवार्य हुन?’ उनले भने, ‘यदि चुनाव लड्छन् भने निकै बलियो अवस्थामा छन्।’

उपराष्ट्रपति चुनाव जितेपछि जसपा सरकारमा सहभागी हुने बाटो खुलेको छ। प्रधानमन्त्री प्रचण्डले चैत १० भित्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन्। गठबन्धनमै रहेको जनमत पार्टी, लोसपा पनि सरकारमा जाने सम्भावना छ। 

त्यसबेला भने यी सबै दल एउटै क्याबिनेटमा हुनेछन्। 

तर ममताले साथ पाइनन्

मनोनयनका क्रममा उपेन्द्र नेतृत्वको जसपालाई छेक्ने योजनासहित तीन दल मिलेको अवस्थामा उपराष्ट्रपति निर्वाचन हुने दिन शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई फोन गरे।

जनमत पार्टीकी ममता झालाई समर्थन गरेका ठाकुरलाई उनले उपराष्ट्रपतिमा रासहायप्रसाद यादवलाई भोट दिन आग्रह गरेका थिए।

प्रचण्डकै आग्रहअनुसार ठाकुरले केन्द्रीय कार्यसमिति बैठकबाट यादवको पक्षमा मत दिने निर्णय गरेर बानेश्वर पुगे।

अर्काेतिर नागरिक उन्मुक्तिले पनि जनमतकी ममतलाई मत नदिएको खुलेको छ।

तर मनोनयनका क्रममा लोसपा र नागरिक उन्मुक्ति पार्टी ममता झाका प्रस्तावक र समर्थक बसेका थिए।

प्रधानमन्त्रीको फोनपछि यी दुवै दल उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनमै मिसिए।

'हाम्रो दलको बैठक बिहान १० बजे बसिरहेको थियो। त्यही बेला प्रधानमन्त्री प्रचण्डले अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर, गठबन्धनमा सँगै भएकोले रामसहायलाई मत दिन भन्नुभयो', एक नेताले भने, 'त्यसलगत्तै हामीले रामसहायजीलाई मत दियौं, प्रधानमन्त्रीको फोन नआएको भए ममतालाई दिन्थ्यौँ।'

मतदानपछि अध्यक्ष ठाकुरले आफूहरूले मत दिएको भन्दै रासहायलाई फोनसमेत गरेको ती नेताले बताए।

लोसपा नेता शरतसिंह भण्डारीले पनि आफूहरूले रामसहायलाई नै मत दिएको पुष्टि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .