नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्न खोजेको बताएका छन्।
शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको बताएका हुन्।
राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको उनले बताए।
संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उनको भनाइ छ।
‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट प्रमुख-उपप्रमुख गरेका छौँ। सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने। राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्छ। अब राष्ट्रपतिमा समस्या आइराखेको छ', उनले भने,'राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा १० दलीय गठबन्धन महिलाविरोधी छ। स्थानीय तह निर्वाचनमा पनि उनीहरुले कानुन छले। त्यो कानून छलेको कुरो कमसेकम राजनीति र राजनीतिक अनुहार फैसलामा नहेर्ने हाम्रा न्यायिक निकायहरु वा निर्वाचन आयोग भएको भए सदर हुन सक्दैनथ्यो।'
उनले १० दलीय गठबन्धनले जालझेल गर्न खोजिरहेको बताए।
'यसको मर्म अर्को समुदायसँग होइन खासमा। पुरुष हुन्छ भने महिला। महिला हुन्छ भने महिला हुनसक्थ्यो तर त्यो कुरा स्पष्ट भएन संविधानमा। महिला राष्ट्रपति भयो भने उपराष्ट्रपति महिला हुन नसक्ने भन्ने कुरा होइन', उनले भने, 'तर अहिलेको अवस्थामा त्यो सम्भव होइन कि जस्तो संवैधानिक व्यवस्था देखिन्छ।’
प्रतिक्रिया