नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार बिपी संग्रहालय सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो भनेका हुन्।
राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए।
उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको पनि बताए।
पौडेलले समावेशी लोकतन्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाए।
‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउन बीपी कोइराला लगायत नेताहरुले बलिदान दिएर देशलाई नयाँ दिशा देखाउनु भयो। आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो। देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई हामीले जर्गेना गर्नुपर्छ’, उनले भने, ‘यसैको मातहत रहेर संविधान सभाको २००७ सालमा बिपीले परिकल्पना गर्नुभएको थियो। त्यो संविधान सभाबाट संविधानको निर्माण भएर व्यवस्था आएको छ। अब यो व्यवस्था हामीले चिरस्थायी बनाउँदै यसमा समसामयिक सुधार गर्नुपर्ने भए गर्ने तर यसैलाई हामीले साकार बनाउन कार्यान्वयनमा ल्याउनुपर्छ ।’
राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए।
उनले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गरेका थिए। पौडेल बिहीवार राष्ट्रपतिमा विजयी भएका हुन्।
Shares

प्रतिक्रिया