नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालीन मुद्दा दर्ता भएपछि झस्किएका माओवादी धारका पार्टीहरूको बैठक बालुवाटारमा बसिरहेको छ।
बैठक प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी छन्।

यसअघि बालुवाटारमै भेला भएका माओवादी धारका पार्टीहरू दोस्रोपटक छलफलमा बसेका हुन्।
‘परिस्थिति अप्ठेरो बनेको’ भन्दै दस माओवादी समूह एकतातर्फ अघि बढेका छन्।
सर्वाेच्च अदालतमा यही फागुन २३ मा दर्ता द्वन्द्वकालीन दुईवटा मुद्दाले माओवादी धारका पार्टीलाई एकै ठाउँमा उभ्याइदिएको हो।
नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टीले कार्यगत एकता गर्ने निर्णय गरिसकेका छन्।
विभिन्न समयमा टुटेका माओवादी घटकहरुबीच एकता प्रयास थालिएको हो। यसमा जोडिने पार्टीको संख्या अझै बढ्ने नेताहरु बताउँछन्।
Shares

प्रतिक्रिया