राजनीति


‘माओवादीविरुद्ध मुद्दा हालेर देशलाई गृहयुद्धतिर लान खोजियो’

‘माओवादीविरुद्ध मुद्दा हालेर देशलाई गृहयुद्धतिर लान खोजियो’

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल। तस्बिर : देवेन्द्र पौडेलको सचिवालय


नेपालखबर
फागुन २४, २०७९ बुधबार १३:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन्। 

माओवादीले लडेर ल्याएको व्यवस्था उसैलाई साक्षी राखेर उल्ट्याएर देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको पौडेलको भनाइ छ।

‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको छ,’ उनले भने, ‘त्यसैको संकेतका रुपमा अदालतको प्रकरण बुझ्न सकिन्छ, यसको हामी प्रतिवाद गर्छौं।’ 

२०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा राजनीतिक भाषा भएको बताउँदै त्यसलाई अदालतले हेर्न नमिल्ने जिकिर गरे। 

‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोलिटकल’ भाषा हो, त्यसलाई अदालतमा लैजानु गम्भीर त्रूटि हो,’ उनले भने, ‘हामीले राजनीतिक, वैचारिक हिसाबले प्रतिवाद गर्छाैं’ 

शान्तिप्रक्रिया टुंग्याउन माओवादीहरु एकठाउँमा आउनुको विकल्प नभएको उनले बताए।

अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी–विदेशी शक्ति लागिपरिरहेको बताउँदै उनले पूर्वमाओवादीहरु एक ढिक्का हुुनुपर्ने बताए। 

‘माओवादी आन्दोलनका साथीहरु एक ठाउँमा हुनुपर्ने बेला आएको छ,’ उनले भने,  ‘हामी छुट्टिँदा हाम्रा मुद्दा कमजोर भए, गम्भीर समिक्षा गरेर अघि बढ्छौं।’ 

विगतमा शान्ति प्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिहरुले न्यायलयलाई प्रभावित पार्ने काम भएको उनले आरोप लगाएका छन्। 

‘शान्ति प्रक्रियामा भूमिका नभएकाले न्यायलयलाई प्रभावित पार्न खोजेका छन्,’ उनले भने,  ‘बृहत् शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरुलाई रुचेको छैन।’

माओवादी आन्दोलन र तत्कालीन ७ दलको सहमतिविपरीत केही तत्वहरुले अहिलेको प्रणालीको मजा लिइरहेको उनले बताए। पौडेलले हिजो भएका सहमति उल्लंघन गर्नु गम्भीर गल्ती भएको बताए। 

सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न ढिलाइ गरेको बताउँदै सहमति भएका मुद्दा उल्टाएर देशलाई गृहयुद्धतिर धकेल्न खोजिएको बताए। 

‘द्वन्द्वकालीन मुद्धा टुंग्याउन ढिला भएका छन्,’ उनले भने, ‘तिनैलाई आधार मानेर अराजक तत्वहरुले देशलाई फेरि द्वन्द्वमा धकेल्ने षड्यन्त्र गरिरहेका छन्। यसको प्रतिवादका लागि माओवादीहरु एकठाउँ हुन आवश्यक छ।’

वृहत् शान्ति सम्झौतमा हस्ताक्षर गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका खेल्ने दलहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ छ। 

संक्रमणकालिन न्यायका मुद्दा टुंग्याउने विषयमा अन्तर्राष्ट्रिय विषय पनि जोडिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत चाँडै यी विषय टुंग्याइने बताए।

राजतन्त्र फर्काउन कहिले कञ्चनपुर, कहिले झापाबाट गम्भीर वक्तव्य र क्रियाकलाप भइरहेको बताउँदै देशलाई गृहयुद्धतिर धकेल्दै राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको बताए। 

‘न्यायपालिकालाई सम्मान गर्छाैं, व्यक्ति र व्यक्तित्वले हमला दिएर देशमा भएको सहमतिलाई उल्लंघन गर्न खोजिएको छ त्यसको सबैठाउँबाट सशक्त प्रतिवाद गर्छौं’, उनले भने।  

मंगलबार द्वन्द्वकालीन सम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि माओवादी वृत्तमा तरंग आएको छ।

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए। 

प्रचण्डको त्यही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले मंगलबार रिट दायर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad