समाज


नारी दिवसका दिन : जीवन रक्षाका लागि कान्छी प्राध्यापकको अपिल

नारी दिवसका दिन : जीवन रक्षाका लागि कान्छी प्राध्यापकको अपिल

प्रा डा उर्मिला प्याकुरेल


नेपालखबर
फागुन २४, २०७९ बुधबार १३:१६, काठमाडौँ

आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेकी छन्। 

स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका विरुद्ध सात वर्षदेखि संघर्षरत प्रा डा उर्मिला प्याकुरेलले थप उपचारका लागि खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै सहयोगका लागि सार्वजनिक अपिल गरेकी हुन्। 

उनी क्यान्सर लागेकै अवस्थामा अध्ययन/अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि (पीएचडी) पूरा गरी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बनेकी हुन्। प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाइरहेकी छन्। 

सिन्धुपाल्चोकको कालिका गाउँमा सामान्य किसान परिवारकी प्राध्यापक प्याकुरेलले नेपाल र जर्मनीमा उपचारका क्रममा रु साढे ४ करोडभन्दा बढी खर्च गरिसकेकी छन्। तर यति गर्दा पनि हालसम्म क्यान्सर पूर्ण रुपमा निको भएको छैन। पूर्णरुपले क्यान्सर निको नभएपछि उनले अन्तिम विकल्पका रुपमा चिकित्सकको सुझावका आधारमा ‘इम्युनो थेरापी’ सुरु गरेकी छन्। उनले हालसम्म ६४ चरणको किमो थेरापी, रेडियो थेरापीलगायतका उपचार गरिसकेका छन्। 

उनका अनुसार इम्युनो थेरापी कम्तीमा एक वर्षसम्म गर्नुपर्छ। र, एक चरणको उपचारका लागि २१ दिनमा करिब रु ४ लाख लाग्छ। ‘अहिले अनुसन्धानका लागि फेलोसिप पनि नपाएकाले खर्च जुटाउन गाह्रो भयो’, प्रा प्याकुरेलले भनिन्, ‘सकेसम्म अरुको सहयोग लिने चाहना नभए पनि अब बाध्यता आइलागेको छ।’ उनले महिलामा मात्र लाग्ने र निको हुने स्तन र पाठेघर तथा डिम्बाशयको क्यान्सरको पनि सुलभ उपचार नभएको गुनासो गरिन्।

उनको अनुसन्धान गणितको व्यावहारिक प्रयोगबाट नेपालमा बढ्दो ट्राफिक समस्या समाधानमा केन्द्रित छ। उनी मधुश्री नामबाट साहित्य रचना पनि गर्छिन्। उनको विद्यावारिधिका निर्देशक त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका अध्यक्ष प्रा डा टङ्कनाथ धमलाले प्रा डा प्याकुरेल एक उत्कृष्ट अनुसन्धाता रहेको र उनका कृति र अन्तर्राष्ट्रिय सञ्जाल निकै सफल रहेको बताए। 

विद्यार्थीलाई सिकाउन र सधैँ अनुसन्धान गर्न उत्सुक र सक्षम रहने प्रा प्याकुरेल अहिले पनि ६ जना विद्यावारिधि र अरु स्नातकोत्तर तहका अनुसन्धानकर्ताहरुको शोध निर्देशक हुन्। प्रा डा धमलाले लागनशीलतामा अथक र नयाँ-नयाँ अवधारणकी धनी प्रा प्याकुरेल लामो समयदेखि उपचारमा रहँदा पनि निडर, साहसी, आत्मविश्वासी युवा वैज्ञानिक रहेको भन्दै सहयोगका लागि अनुरोध पनि गरे। 

त्यस्तै, तीन वर्षदेखि प्रा प्याकुरेलको उपचारमा संलग्न प्रा डा राजेन्द्र बरालले प्रा प्याकुरेललाई आत्मविश्वास र उपचारले बचाएको उल्लेख गरे।अहिलेको उपचार भने उनको अन्तिम विकल्प रहेको र यो निकै महँगो भएकाले सहयोगको अपिल गरे। 

प्रा डा प्याकुरेलका भाइ राजेन्द्र प्याकुरेलले निम्नवर्गीय परिवारको सदस्य भएर पनि दिदीले सानो उमेरमा नै शैक्षिक क्षेत्रमा उच्चतम सफलता प्राप्त गरेको र उनी परिवारको मात्र नभएर राष्ट्रकै गौरव भएको बताए। 

सात वर्षदेखि क्यान्सरलाई जितिरहेकी डा प्याकुरेलको उपचारका लागि अन्तिम विकल्पका रुपमा इम्युनोथेरापी मात्र रहेको र उपचार अत्यन्त महँगो भएकाले आफूहरु सहयोगको अपिल गर्न बाध्य भएको उनको भनाइ छ। 

उनलाई सहयोग गर्न काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ बैंकको उर्मिला प्याकुरेलका नाममा रहेको खाता नम्बर ०१७१५१६२७२१ मा रकम जम्मा गर्न सकिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad