राजनीति


खानेपानीमा राजनीति नगर्न मन्त्री खानको चेतावनी

खानेपानीमा राजनीति नगर्न मन्त्री खानको चेतावनी

नेपालखबर
फागुन १५, २०७९ सोमबार १५:१५, काठमाडौँ

खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। 

सोमवार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए।

उनले खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताए। उनले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिए। 

उनले पार्टीमा राजनीति गर्न मन लागेको भए फिल्डमै गएर राजनीति गर्न र अरु पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिने बताए। 

उनले भने, ‘नेपालको राणाकालीन अवस्थादेखि खानेपानीको वृत्तमा सञ्चालन भएको खानेपानीको अवस्थाका देशका विभिन्न भागमा सञ्चालन छ। तर राजनीतिको अखडा नबनाउँ। राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरु पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु। तर खानेपानीमा राजनीति नगर्नुस्। राजनीति गरौँ तर यसमा प्रधानमन्त्रीको अघि धर्ना बसेर, अर्थ मन्त्रालयको अघि बसेर धर्ना दिऔँ म अगाडि हुन्छु तर कर्मचारीलाई उचालेर राजनीति नगरौँ।’

उनले कर्मचारीहरुले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पुर्याउनका लागि आन्दोलन गर्नुपर्ने बताए। उनले खानेपानीका लागि बजेट नछुट्याए र प्राथमिकतामा नराखे आफैँ त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्ने बताए।

उनले काभ्रेपलाञ्चोकको पनौतीस्थित खानेपानी संस्थानलाई निजीकरण गर्नेकुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिन भित्रमा पेस गर्न खानेपानी संस्थानलाई निर्देशन दिए। 

उनले भने, ‘कर्मचारीलाई मर्कामा राख्ने कुरा हुँदैन, कर्मचारी भनेको सेवक हुन्, उनीहरुले राम्रो ठाउँ पाउनुपर्छ। कर्मचारीले पार्टी र व्यक्तिको लागि आन्दोलन होइन, खानेपानीको लागि आन्दोलन गरौँ। पनौतीको खानेपानी संस्थानलाई निजीकरण गर्ने भन्ने कुरा आयो। किनभने प्रतिवर्ष ५० लाख घाटा हुँदो रहेछ, मन्त्रालयले धेरै कुरा गर्नुपर्छ। धेरै अपेक्षा गरेको छु भन्नुभयो, यो दोधारे कुरा नगर्नुस्। निजीकरण किन गर्ने? त्यसको जवाफ सात दिनभित्र मन्त्रालयलाई दिनैपर्छ। निजीकरण गरेपछि तपाईहरुको काम के?’

मन्त्री खानले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad